विश्व प्रेस काउन्सिलको बैठक : मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

नैरोवी (केन्या) । प्रेस काउन्सिलको अन्तराष्ट्रिय स्तरको मञ्चमा सामाजिक न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।

नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरैखालका प्रयासहरू भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताउनुभयो । “हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा  विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।” वल्र्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो ।  उहाँले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राख्नुभयो ।

मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले  काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने तर्फ उहाँको जोड थियो । विभिन्न ३ दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागिता छ ।

विश्व प्रेस काउन्सिलका महासचिव समेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा सिवभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी समेत दिनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ३६ बजे