‘स्थानीय सरकारको काम हेर्न पनौती आउनुस्’

पनौती । अरू नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु पर्छ । तर पनौतीमा पर्दैन । मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौँ बिन्ती चढाउनुपर्छ तर पनौतीमा पर्दैन ।

काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका मेयर भीम न्यौपाने सहजभित्रका सहज अनि नरम भित्रका नरम नेता हुनुहुन्छ । हजारौँ गुण भएका न्यौपानेसँग थोरै मात्रै अवगुण छन् । त्यो अवगुण भनेको सत्य बोल्नुहुन्छ अनि भ्रष्ट्राचार गर्नुहुन्न । भन्नुहुन्छ– मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठ्यारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनमा सन्तुष्टि छ ।

भीम न्यौपाने, इमानदारिताका पर्याय, पाँच वर्षमा सयौँ उदाहरणीय काम गरेर लोकप्रिय जननेता बन्नु भएको छ । सङ्घीयता कार्यान्वयनमा स्थानीय तहको भूमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच वर्षमा पूरा गर्नुभएको छ । सादा जीवन सामान्य पोसाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुनुहुन्छ ।

आम नागरिक भन्छन्, भनेको जति काम गर्न सकेनन् होला तर भीम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा गरिरहे । जनताको साथ पाए । पार्टीले दिएको जिम्मेवारी अक्षरशः पालना गरे ।

पनौती नगरपालिका पूर्व मेयर भीम न्यौपाने जसले पनौतीको जनताको सधैँ साथ पाउनुभयो । उहाँले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहज रूपमा बिताउनुभयो । काभ्रेको पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गर्नुभएन । पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा उम्मेदवारी दिनुभएको छ ।

जुन नगर कृषि, पशुपालन र सांस्कृतिक सम्पदा अथक रहेको नगरको रूपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँच बर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरवासीहरू सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा विकाससँगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठुलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।

मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौँदेखि अलपत्र परेका आयोजनाहरूले गति लिए । भूकम्पपछिको पुनः निर्माणले आफ्नो गन्तव्य पूरा गर्‍यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेले ।

नगरका जनताको आर्थिक सामाजिक रूपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो ।

पनौतीका अधिकांश विद्यालयहरूको सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरूमा प्रविधि सहितको आइटी ल्याब स्थापनामा जोड दिइएको छ ।

निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहनुभएको छ । भन्नुहुन्छ– आलोचना भएन भने मेरा गल्ती कसरी थाहा पाउँछु र ?

पाँच वर्षको कार्यकालमा बालमैत्री नगर घोषणा मात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो पनौती ।

पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उहाँ रोकिनुभएन । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयास थाल्नुभयो ।

ऐतिहासिक नगर पनौती क्षेत्रलाई विश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उहाँले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र बनाउनुभयो । घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुभयो । गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने काम गर्नुभयो ।

जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले वितण्डा मच्चाउँदा पनौतीमा कम क्षति हुन्छ । त्यो कार्यको योजना उहाँले नै करिडोरमार्फत सफल पार्नुभयो ।

गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गर्नुभयो। नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गर्नुभयो, वर्षौँदेखिको विवादमा रहेको रङ्गशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बन्नुभयो । पनौती, बनेपा, पनौती कशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिनुभयो ।

सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पुर्‍याउनुभयो । पनौतीमा दुई वटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाइडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।

पशुपक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भैँसी प्रवर्द्धन, पशु बीमा, पाडा पाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुसरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी एमाले पनौती नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।

नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भीम न्यौपाने, उपप्रमुखका उम्मेदवार गीता बञ्जारा, नेकपा एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष रामहरि सुवेदी, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाईँ, नेकपा एमाले काभ्रेका उपसचिव राजकुमार सापकोटाले संयुक्त रूपमा घोषणा पत्र सार्वजनिक गर्नुभयो ।

प्रतिबद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार न्यौपानेले आफ्नो पहिलो कार्यकालमा अघिल्लो निर्वाचनमा आफूहरूले अघि सारेका ८५ प्रतिशत कामहरू सम्पन्न भएको बताउनुभयो । 

उहाँले प्रतिबद्धता पत्रमा उल्लेख भएका कुरालाई सिरोपर गर्दै आफूहरू निर्वाचित भएको खण्डमा पहिलो कार्यकालमा सुरु गरिएका ठुला आयोजनाहरूको काम सम्पन्न गरी जनता समक्ष हस्तान्तरण गर्ने बताउनुभयो । 

पहिलो कार्यकालमा भूकम्पको पुनर्निर्माण, कोरोना सङ्क्रमणसँग जुध्नु परेको बताउँदै उम्मेदवार न्यौपानेले सम्पदाको सहर पनौतीलाई व्यवस्थित गर्ने लगायतका काम अघि बढाउने बताउनुभयो ।

न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पनौतीमा निर्माणाधीन २५ शय्याको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित तीन महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो ।

सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एक पटक पूर्ण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष रामहरि सुवेदीले एमालेको सरकारले अघि बढाएका काम पूरा गर्नका लागि एमालेले नै जित्नुपर्ने बताउँदै कार्यक्रममा एमाले काभ्रे कमिटीका उपसचिव राजकुमार सापकोटाले एमालेले गरेका प्रतिविद्धताबाट अन्य राजनीतिक दलहरूले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ४४ बजे