इदका अवसरमा उपराष्ट्रपतिको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् पर्व इद (इद उल फित्र)को शुभकामना दिनुभएको छ । 

इदका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक रहेको उल्लेख गर्दै उहाँले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै लगेको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इद उल फित्रले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ५५ बजे