आज फाल्गुनन्द जयन्ती

आज देशभरको मौसम सफा रहने

नेपाल युएईसँग पराजित

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै

काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दै छ।
सो बैठकको पूर्वाद्र्धमा हिजो तयारी बैठक बसेको थियो। मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बैठक आज अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ ।

हिजोको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको छ । त्यस्तै सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।

बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

आज बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । साथै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्र्नुपर्ने कार्यका बारेमा समेत ठोस बाटो तय गर्ने जनाइएको छ ।

नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ९ : ४२ बजे