‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नागरिक समाजको बिद्रुपीकरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ मा गरेको प्रतिनिधिसभाको विघटन र नयाँ निर्वाचनको घोषणादेखि अस्ति प्रज्ञा भवनको डवलीसम्म आइपुग्दा कृष्ण खनाल र नारायण वाग्लेहरुको नागरिक समाज उङ्गागो भयो । राजनीतिमा त थेत्तरो, छेपारो र छलकपट चलेकै छ, त्यहीभएर पुष्ष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु अनेक रंग र ढंगमा देखिन्छन् नै । तर नागरिक समाजका अगुवा भनेका कृष्ण र नारायणहरु कसका लागि र किन देश भाँड्न उद्यत छन् यो अव छानविनको बिषय हुनुपर्छ । खगेन्द्र संग्रौला र युग पाठकहरुको कुरा नगरौं, उनीहरुको मिसननै नेपालको खण्डीकरण हो, साम्प्रदायिक सद्भाव भड्काउने हो । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको राक्षसीकरण गर्नेदेखि राष्ट्रिय स्वार्थको नेतृत्व गर्ने केपी ओलीबिरुद्ध कन्दनी कसेर लाग्नु उनीहरुको जीवनको एकमात्र प्राथमिकता हो । त्यसैले खगेन्द्र र युगका बारेमा टिप्पणी नै बेकार छ । 

तुलनात्मक ठिकै ठानिएका कृष्ण र नारायणहरुले भने यसपटक नागरिक समाजका नाममा नागरिक समाजकै अवसान गराए । त्यसो त नागरिक समाजको आन्दोलन घोषणा भइरहँदा किन र के उदेश्यका लागि आन्दोलन भन्ने यक्ष प्रश्नको उत्तर दिने सामथ्र्यसम्म उहाँहरुको थिएन । किनकी नागरिक समाजका नाममा राजनीतिक दलले भन्दा चर्को राजनीति गरेपछि त्यो केही फरक रुपका व्यक्तिको गुट हो भन्ने त त्यतिबेलै प्रष्ट भएकै थियो । तर अस्ति प्रज्ञाभवनको डवलीले लाजसमेत छोप्न नस्क्ने गरी नागरिक समाजको प्रकट भयो । शायद, राजनीतिको मुखुण्डो ओढेको कथित नागरिक समाजको अन्त्येष्टी नै त्यही थियो । 

नागरिक समाजले नागरिकका सरोकारमा चिन्ता जताउँछ, नागरिक मुद्दाको समाधानका लागि सरकारलाइ दवाव दिन्छ । नागरिकका हकअधिकारका सवालमा बिचारबिमर्श गर्छ । तर यो नागरि समाजलाइ ती मुद्दासँग कहिले चासो रहेन, त्यस्ता समाजिक मुद्दा कहिले पनि कृष्ण र नारायणहरुले उठाएनन् । जस्तो : समाजका महिलाबिरुद्धका हिंसा र बलात्कार जस्ता जधन्य अपराधका घटना भइरहँदा कृष्ण र नारायणहरुलाई ती मुद्दामा बोल्नुपर्छ, उठाउनुपर्छ भन्ने कहिले लागेन । बलात्कारीबिरुद्ध कडा कानुन ल्याउनुपर्छ भन्ने बिषयमा उनीहरु बोलेको कहिकतै रेकर्ड छ ? छैन । बलत्कारीबिरुद्ध सरकारले अध्यादेशबाट कडा कानुन ल्यायो तर ती नागरिक समाज त्यही कानुनको बिरोधमा उत्रे । अहिले अध्यादेश संसदमा प्रस्तुत हुन पाइरहेको छैन किनकी नागरिक समाजलाई यस्ता समाजिक मुद्दामा चासो नै छैन ।

सरकारले अर्को सामाजिक अपराध एसिड आक्रमणबिरुद्ध अध्यादेशबाट कानुन ल्यायो । एसिड आक्रमणकारीबिरुद्ध पिंडितहरु र त्यसका अभियन्ताहरुसँग परामर्श गरेर अपराधीलाई कडा सजायँको व्यवस्था गर्यो । सबैले यसको स्वागत गरे । तर कथित नागरिक समाजका लागि यो कहिले पनि मुद्दा बनेन । गजव लाग्छ नागरिक समाजका लागि यो पहिलो प्राथमिकता हुनुपथ्र्यो तर कहिकतै यसबारे नागरिक समाजका अगुवाहरु बोलेको पाइएन । 

नागरिक समाज मुद्दाबिशेषका आधारमा सरकारको समर्थन र बिरोध गर्ने हो । तर त्यो कहिले पनि उनीहरुले गरेनन् । माथिका सामाजिक अपराधबिरुद्ध सरकारका सकारात्मक कामको प्रशंसा गर्न नसक्ने नागरिक समाजले सरकारले गरेका विकास र समृद्धिका कार्यक्रमबारेमा सकारात्मक धारणा राख्ने अपेक्षा नै बेकार छ । पूर्वाधारका क्षेत्रमा, राष्ट्रिय एकता र अखण्डताको संरक्षणका सन्दर्भमा, नेपाली भूगोल फिर्ता ल्याउन गरिएको ऐतिहासिक आरम्भका सन्दर्भमा र सन्तुलन कायम राख्दै नेपालको यातायात र पारवहनका लागि भएका महत्वपूर्ण सम्झौताका बारेमा कृष्ण र नारायणहरुका धारणा समेत नकरात्मक हुनुको अर्थ कसको सेवा हो भन्ने प्रष्टै छ ।

बलात्कारीबिरुद्धको कडा सजायसहितको कानुन निर्माण उहाँहरुको मुद्दा बनेन् । एसिड आक्रमणकारीबिरुद्ध कडा सजासहितको कानुन व्यवस्थाको माग उहाँहरुको मुद्दा बनेन् । राष्ट्रिय अखण्डता, एकता र साम्प्रदायिक सद्भाव उहाँहरुको सरोकारमा कहिले पनि परेन । ओली सरकारले देश र नागरिकका पक्षमा गरेका ऐतिहासिक कामहरुप्रति कहिले सकारात्मक धारणा आएन । के आयो ? के आयो भने जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउ । अनि फेरी पनि यो नागरिक समाज हुने ? कुनै लज्जाबोध पनि छैन ।

प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल, बाबुराम भट्टराइ र उपेन्द्र यादवहरुलाई ओलीका सकारात्मक कामको समर्थन गर्न गाहे छ किनकी समर्थन गर्ने बित्तिकै राजिनामा माग्न पाइदैंन । ओलीले जति लामो समय सरकारको नेतृत्व गर्नुहुन्छ, त्यति औडाहा र चिन्ता उहाँहरुमा देखिन्छ किनकी देश र नागरिकका पक्षमा भएका राम्रा कामहरुले ओलीको राजनीतिक उचाइ बढीरहेको छ । ओलीका सामु उहाँहरु लिलिपुट सावित भइरहनुभएको छ । ओलीलाई बिस्थापित गर्न नसक्दा उत्तरार्धतिरको राजनीतिक जीवनको औचित्य नै सकिएको आभाश उहाँहरुमा भएको देखिन्छ । आफ्ना क्षमताको आंकलन गर्न नसक्नु र ओलीको पक्षमा बढेको जनलहरको कारण खोजी गर्न तर्सनु उहाँहरुको चरित्र भएको छ । 

तर खनाल र वाग्लेहरु जसरी नागरिक समाजको आवरणमा प्रधानमन्त्री ओलीबिरुद्धको एकसुत्रीय मिसनमा लाग्नुभयो, यो भने उहाँहरुको बिगतको बिरुद्ध छदैंछ, वर्तमानले समेत नागरिकलाइ लज्जित बनाएको छ । नारायण वाग्लेले ताजा जनादेशको घोषणालाई प्रतिगमन भन्दै तेश्रो जनआन्दोलनको उद्घोष कति बेला गर्नुभयो, जतिबेला उहाँ प्रहरीको सुरक्षा घेरा तोडेर वालुवाटार प्रधानमन्त्री निवासको ढोका तोड्न जाने भीडलाइ उक्साउँदै हुनुहुनथ्यो । वाग्लेलाइ थाहा हुनुपर्छ प्रहरीले प्रधानमन्त्री निवासको मात्रै होइन, वाग्लेसहितका त्यहाँ भेला भएका नागरिकहरुको पनि सुरक्षा गर्छ । सुरक्षा गर्न सुरक्षा ब्यारिकेड पनि राख्छ । जसले त्यो सुरक्षा घेरा तोड्न खोज्छ, त्यसलाई तितरबितर पार्न सामान्य बल पनि प्रयोग गर्छ । प्रहरीले पानीका फोहोरा प्रयोग गर्यो, वाग्ले भिज्नुभयो, जव उहाँ भिज्नुभयो, तव तेश्रो जनआन्दोलनको उद्घोष गर्नुभयो । वाह, एउटा व्यक्ति प्रतिवन्धित क्षेत्रमा जान पाउनुपर्छ भन्छ, प्रहरीले रोक्छ । अनि तुरुन्तै उ जनआन्दोलन घोषणा गर्छ । कति सस्तो बनाएको जनआन्दोलनलाई ? 

अस्ति, डवलीमा प्राध्यापक कृष्ण खनालले गरेको मोडरेसन पनि नागरिक समाजको बिद्रुपीकरणको अर्को भद्दा उदारण हो । खनालको एकमात्र सार थियो– ओलीलाई किन नहटाएको ? कहिले हटाउने ? तपाईहरुले योजना ‘बी’ किन बनाउनु भएन ? अव पनि ओलीलाई नहटाउने हो ? जस्ता प्रश्नमात्र उहाँसँग थिए । मानौं, ओलीलाइ नहटाएकोमा प्रचण्ड र माधव नेपालको भन्दा बढी चिन्ता कृष्ण खनाल, नारायण वाग्लेहरुलाई छ । उहाँले माधव नेपाललाइ उकास्नुभयो, प्रचण्डलाई उकास्नुभयो । अझ नारायण वाग्लेले त माधव नेपाललाइ आफ्नो नागरिक समाजमा समावेश हुन आब्हाननै गर्नुभएछ । धन्न, महन्थ ठाकुरले प्रतिप्रश्न गर्नुभयो, उहाँ उचालिनु भएन । ओलीबिरुद्धको उक्त प्रहस र डवली नागरिक समाजप्रतिनै बितृष्णा पैदा गर्ने थियो । शायद, अलिअलि भ्रममा लागेकाले पनि बुझ्नुभयो होला, कसका लागि यो मंचन भइरहेको थियो भनेर ।

अव दोश्रोचरणको तेश्रो जनआन्दोलन कहिले घोषणा गर्ने हो वाग्ले र खनाल सर ? के त्यो आन्दोलनमा प्रचण्ड, माधव, रामचन्द्र र बाबुराम पनि सहभागि हुने हो ? यो प्रश्न उही नागरिक समाजलाई ? 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ५५ बजे