‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अराजक माधव–भीमको निलम्वनबाट थालिएको शुद्धीकरण    

नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अनुशासनको कारवाही गर्दै छ महिनाका लागि निलम्बन गरेको छ  । पार्टी केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाही गर्नुभएको हो । त्यसैले यो कारवाहीको अर्थ छैन, कारवाही मान्दैनौ भन्नु माधव र भीमको आत्मरती हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लागेर आफ्ना अध्यक्षबिरुद्ध आजसम्म गरेका अपराधको तुलनामा यो कारवाही सामान्य हो, यो अपेक्षित थियो । पार्टीका इमान्दार कार्यकर्ता, नेता र शुभेच्छुकहरुले आफूहरुलाई कसरी मुल्याकंन गर्छन् भन्ने अलिकति पनि हेक्का राख्न माधव र भीमले सकेको देखिएन । उहाँहरुबिरुद्ध यति धेरै नकारात्मक टिप्पणी आएका छन् कि कमसेकम ती प्रतिक्रिया हेरेर कार्यकर्ताको मुड, चाहना र राष्ट्रिय माहौल बुझ्नुपर्छ ।

आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध अनेकौं भूमिगत षड्यन्त्र गर्ने, देशीविदेशी शक्तिसँग सार्वजनिक हारगुहार गर्ने र हुँदाहुँदा पार्टी प्यालेसबाट आफूलाई अध्यक्ष घोषित गर्दै निर्वाचित अध्यक्षलाई साधरण सदस्यबाट हटाउनेको अपेक्षा भने गजवकै हो । भएका र गर्न सकेका सबै षड्यन्त्रहरु गरेर पार्टी र सरकारलाई बदनाम गर्ने नाङो प्रयास गर्नेहरुले ती अपराध महसुस गर्नु नपर्ने, अतिकति पश्चताप पनि नहुने र उल्टै ओलीले उनीहरुलाई एमालेमा रेडकार्पेट स्वागत गर्नुपर्ने जस्ता चाहना राख्ने माधवहरुको दुस्साहसलाई मान्नुपर्छ । आम कार्यकर्ता र नेता र नागरिकको चाहना विपरित नेकपा सिध्याउन प्रचण्डको मतियार भएर माधव नेपाल लाग्नुभएका दर्जन बढी प्रमाण यसै पनि छताछुल्ल छन् । 

त्यसमा पनि सर्वोच्चले एमाले ब्यूँताएपछि चुपचाप माधव नेपाल र भीम रावलहरु ओलीको निर्देशन मानेर गल्ती भएकोमा क्षमा माग्दै पार्टीकाममा जुट्नुपथ्र्यो । तर ती केही पनि काम उहाँहरुबाट भएनन् । जे गर्दा पनि कारवाही नहुने प्रवृतिले पार्टीमा अराजकता पैदा गर्छ । भोलि फेरी गल्ती गरिरहने, पार्टी र नेतृत्वविरुद्ध पराइसँग मिलेर षड्यन्त्र गरिरहने अवस्था आउँछ । त्यसैले पार्टीभित्र अराजकता रोक्न माधव नेपाल र भीम रावललाई कारवाही आवश्यक थियो र भयो । यो सबै दृष्टिकोणले उचित छ । अझैपनि नेपाल र रावललाई सच्चिन छ महिनाको समय दिइएको छ । यो छ महिनामा उहाँहरुमा सद्बुद्धी पलाओस् । यो अवधिमा एकान्तमा बसेर आत्मासमिक्षा गर्दा हुन्छ । ओलीबिरुद्ध ठिक गरेको भन्ने लाग्छ भने प्रचण्डसँग मिल्न गएपनि हुन्छ । फेरी पनि प्रचण्डकै पार्टीको सहअध्यक्ष भएपनि हुन्छ । आपत्ती केही छैन किनकी राजनीतिमा यस्ता स्वविसर्जन बाटो कतिपय नेताहरुले पहिला पनि समातेकै हुन् । भीरबाट खस्छु भन्नेहरुलाई काँध हाल्न पार्टीले सक्दैन, रामराम भन्न मात्र सक्छ । कुण्ढाले अवसानतिर डोहोर्याउँछ र यति बिघ्न कुण्ढा राम्रो होइन माधव कमरेड भनेर पहिला पनि भनिएको हो । 

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिधिप्रक्रिया अनुसार पार्टीमा नबुझाउने, मिडियामा गएर प्रचार गर्ने र प्रश्नको जवाफ दिन छाडेर उल्टै प्रश्न सोध्ने जस्ता हरकत सैह्य हुँदैनन् । साच्चै भन्ने हो भने १५ बर्ष पार्टीको नेतृत्व गर्दा माधव नेपालले एमालेलाई नयाँ उचाइमा पुर्याउन सक्नुभएन, ओलीजस्ता क्षमतावान नेताहरुलाई पार्टीभित्रका स्थायी प्रतिपक्षको व्यवहार गर्नुभएको हो । भो इतिहास नकोट्याउँ किनकी त्यसले माधव नेपालप्रति थप कारवाहीको माग गर्दछ । आखिर प्रतिशोध र बदला ओलीको राजनीति होइन । ओलीको राजनीति देशको विकास र समृद्धि हो, जसका लागि सरकारले आधार तयार पारेको छ  र त्यसतर्फ ठोस कामहरु आरम्भ भएका छन् । ओलीले जति राम्रो काम गर्नुभयो, त्यति माधव नेपाल र प्रचण्ड अत्तालिएको कार्यकर्ता र नागरिकले नबुझेको हो र ? ’एमाले हामी हौं,कसैले हटाउन सक्दैन‘भन्दै गुदीविनाको अलंकार जपेर हुन्छ ? कारवाही त भइसक्यो । अव देशभरका एमालेका कार्यकर्ता र शुभेच्छुकहरुले नेपाल र रावललाइ निलम्वित नेताका रुपमा बुझ्छन् र व्यवहार पनि त्यही अनुसार गर्छन् ।

एमालेभित्र बिधि, प्रक्रिया र पद्यती छ । पार्टीको बिधानले ती सबै व्यवस्था गरेको छ । पार्टी केन्द्रीय कमिटी र पार्टी संसदीय दलका बैठकका निर्णयहरु छन् । ती सबैका आधारमा कारवाहीको यो शुद्धीकरण अभियान थालिएको हो । पार्टीलाई बिर्सजनतिर लैजाने र आफ्नै घरको खाँबोमा आरा लगाउनेहरुलाई उन्मुक्ति दिनुहुँदैन । त्यसैले यो निलम्वन एमालेलाई अनुशासित, बैचारिक र वास्तविक कम्युनिष्ट पार्टी बनाउनेतर्फको साकेतिक कारवाहीमात्रै हो । नेपाल र रावललाइ छ महिना दिइएको छ, यस्तो कारवाही अन्य नेताहरुलाई पनि हुनसक्छ किनकी एमालेमा बसेर प्रचण्डको एजेण्डा बोक्न पाइदैन । त्यसतर्फ माधवका पछि लागेका नेताहरुको ध्यान जाओस् । अराजकता रोकिन्छ । एमाले सिध्याउँछु भनेर कसम खाएकाहरुलाई एमालेमै स्वागत हुँदैन । पार्टीलाई बोझ चाहिएको होइन, राम्रा नेता र कार्यकर्ता चाहिएको हो । 
        
       
 
 
 
 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ११ : २० बजे