‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढङ्गले जित हासिल हुन्छ: अध्यक्ष केसी

स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरूले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठ वटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहनुभएको छ । एमाले जिल्ला अध्यक्ष केसीले अहिले सिङ्गो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहनुभएको छ । यस पटकको स्थानीय निर्वाचन एमालेका लागि कत्तिको जटिल चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँगको कुराकानी:

स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनुभएको छ ?
​​​​​​​–नेकपा एमालेको समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ । हामी स्थानीय तहको चुनावमा अहिले १६ वटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरू बनेका छन् । र हामी युद्ध स्तरमा चुनावी तयारीमा जुटेका छौँ । जिल्लाका १६ वटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ । अहिले हाम्रा उम्मेदवारहरू घरदैलो कार्यक्रममा हुनुहुन्छ । सबै कमिटीहरूले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठ वटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ?
–स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको सङ्ख्या बढाउँछौँ । अहिले खास गरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ । र हामी चाहिँ दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौँ । 

यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविक रूपले अत्यधिक मतका साथ विजय हासिल गर्छौँ । र हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौँ । अहिले एमालेमा धेरै मानिसहरू प्रवेश गरेको अवस्था छ । त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुद्धृढ रहेको देखाउँछ । र सबै पार्टी भन्दा शक्तिशाली पार्टीको रूपमा स्थापित छ । 

पार्टीभित्र असन्तुष्टि पनि त होला नि होइन?
–असन्तुष्टि हुनु स्वाभाविक हो । असन्तुष्टीहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौँ । नीतिगत रूपमा, सैद्धान्तिक रूपमा असहमति केही थिएनन् । कतिपय साथीहरूले जिम्मेवारी लिने कुरामा केही व्यक्तिगत असन्तुष्टि थियो । हामीसँग एउटा सीमा छ । त्यो सीमा भन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो । पार्टीले फैसला गरिसकेको छ । त्यो फैसलालाई सबै साथीहरूले बोकेर हिँड्नुभएको छ । भएका कमी कमजोरीहरूलाई हामी चुनावपछि समीक्षा गर्ने छौँ । जहाँ कमी कमजोरी भएका छन्, तिनी कमी कमजोरीलाई पार्टीले आत्मसाथ गर्ने छ । जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरू सबै पार्टी काममा लागि सक्नुभएको छ । 

गत स्थानीय तहको चुनाव भन्दा धेरै स्थानमा जित्छौँ भन्नुभयो । जित्ने आधारहरू चाहिँ के छन्?
–हामीसँग प्रशस्त एजेन्डा छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरू स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने अलपत्र पर्छन् । हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ । त्यस कारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेन्डाहरू छन् । त्यस कारण एमालेको विजय अनिवार्य छ ।

जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईँको भूमिकाको पनि मूल्याङ्कन होला नै हैन?
–हाम्रो पार्टी संस्थागत ढङ्गले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढङ्गले सोचेर मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नुपर्छ । नेकपा एमालेको रुपन्देही जिल्लामा जुन साङ्गठनिक सञ्जाल छ । एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरू छन् । यी सबै कारणले गर्दाखेरि हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौँ । यहाँ चाहिँ हाम्रो पार्टीका थुप्रै नेताहरू हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरूले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ । रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ । विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरूले भन्ने गर्छन् । यसको नेतृत्व नेकपा एमालेले गरेको छ । यहाँका जनताले त्यो कुरा बुझेका छन् । यस कारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढङ्गले जित हासिल हुन्छ ।

देशव्यापी सत्तारुढ गठबन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ?
–विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ । यो बडो अचम्मको परिघटना छ । त्यस कारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैभित्र असन्तुष्टि, निराशा, कुण्ठा बोकेर हिँडिरहेको छ । एमालेको पङ्क्ति सही दिशामा अगाडि बढिरहेको छ ।

तपाई पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईँका पनि केही असन्तुष्ट छन् कि?
–कुनै असन्तुष्टि छैन । नेकपा एमालेको संस्थागत  फैसलालाई मैले जहिले पनि बोकेर हिँड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैँभरि उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिँड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टि छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरूले चित्त दुःखाएर हिँड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ । यो नै हाम्रो विजयको आधार हो । 

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ३९ बजे