‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाँच वर्षमा हामीले धुलिखेलमा गरेको काम नै चुनाव जित्ने आधार हो : अशोक ब्याञ्जु

पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईँको उम्मेदवारी ?
​​​​​​​हामी जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक भएर काम गरेका छौ र अब फेरि पनि हामी सेवक हुनेछौँ । सामाजिक जागरण र विकासका अभियन्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमुना नगर बनाउन, यसअघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाइका साथ नियन्त्रण गराउन, पाँच वर्ष भित्रमा दिगो विकास लक्ष्यका सबै सूचकहरू पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरणमा र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दिगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गर्न पुनः मेरो उम्मेदवारी हो । यो पाँच वर्षको अवधिमा धुलिखेल दक्षिण एसियाका १५ सहर भित्र पर्न सफल भएको छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा समेत नमुना घोषणा भएको छ ।

हामीलाई नै भोट दिनु पर्ने मेरा केही दाबी पनि छन् । नेकपा एमालेसँग सही विचार छ । नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेको छ ।नेकपा एमाले हरेक आन्दोलनको अगुवाइ गरेको छ ।नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो । नेकपा एमालेले संविधान निर्माणको अगुवाइ गरेको छ । राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँग । नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेको छ । नेकपा एमालेले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रूपमा स्थापित गर्न चाहन्छ ।

स्थानीय सरकारको पहिलो अनुभव कस्तो रह्यो अनुभूति ?
सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरण र नयाँ युगको थालनीको रूपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । यसले सङ्घीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्ने छ । यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल धुलिखेल निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प गरेको छ । जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर-आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैँ अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिँदै आएको छ । नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो । माक्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो । सामाजिक-आर्थिक रूपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुदलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रूपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञा छ ।

यही मान्यतालाई आत्मसाथ गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरका मतदाताहरूले नेकपा एमालेलाई अत्यधिक बहुमतका साथ विजय गराउनु भयो । यस दौरानमा हाम्रो पार्टीबाट विजय हुनु भएका जनप्रतिनिधिहरूले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरू समक्ष घाम जतिकै छर्लङ्ग छ । देश सङ्घीय शासन प्रणालीमा रूपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि संविधानले व्यवस्था गरेका एकल अधिकारहरू तथा प्रदेश र सङ्घको साझा अधिकारको कार्यान्वयनको चुनौतीको अवस्थामा हामीले नगरमा प्रवेश गरेका थियौ । नगरपालिकाको जनशक्ति व्यवस्थापनका साथै संविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरूमा कानुनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसँग थियो । यसका साथ साथै जनताहरूलाई दिनु पर्ने सेवा तथा नगरका विकासहरूलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तव्य थियो ।

यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ । पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य विकास आयआर्जन कृषि तथा पशु विकास तथा आय आर्जन र गरिबी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको छ । हामी जुन रफ्तारमा कार्य सम्पादन गरी रहेका थियौ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को कारण करिब दुई वर्ष काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ । यसका अलावा सङ्घीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा जनादेशको विस्थापन र परमादेशको शासनमा भएको सरकार परिवर्तनले समेत ठुलो प्रभाव पुग्न गयो । हाल गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौँ महँगी र कालोबजारीका साथै मूल्य वृद्धिले थिलथिलो बनाएको विदितै छ ।

हामीले ५ वर्षमा नगरको समग्र विकासका आधार सिलाहरू निर्माण गरेका छौ । यसको पूर्णता भएमा मात्र नगरको आर्थिक सामाजिक तथा गरिबी निवारणमा हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौ ।

देवी स्थानमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको सालिक सहितको पार्क, बखुण्डोल र शारदा बतासेमा बुद्धको मूर्ति सहितको पार्क, सरस्वती बजारमा बाघ र सरस्वतीको मूर्ति सहितको पार्क, काभ्रे भञ्याज्ङ्गमा मदन भण्डारीको सालिक सहितको पार्क सहित ५३ वटा पार्क निर्माण गरिएको छ । १२ वटा स्वास्थ्य संस्थाहरू, २ वटा सहरी स्वास्थ्य उप–केन्द्र र १ आयुर्वेदिक औषधालयबाट सेवा सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिकालाई स्वस्थ सहर बनाउन सबै नगरबासीको डिजिटल हेल्थ प्रोफाइल निर्माण गरिएको छ । समुदाय स्तरमा स्वास्थ्य सचेतना समूह गठन गरिएको छ । कोभिड १९ तथा टाइफाइड रोग विरुद्धको खोप सबै नगरबासीलाई पूर्ण रूपमा उपलब्ध गराइएको छ ।

कोभिड १९ को महामारीको अवस्थामा जनचेतना, नमुना क्वारिन्टीन र बिरामीहरूलाई घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । क्षयरोगमुक्त तथा पोषण मैत्री नगर बनाउन कार्यक्रम सञ्चालन भएको छ । धुलिखेल नगरपालिकाका नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । सबै वर्ग तथा समुदायलाई समेटी ५ वटा परिषद् निर्माण गरी सोही परिषद् मार्फत आय आर्जन तथा सशक्तीकरणका लागि १२८९ जनालाई विभिन्न किसिमका आय आर्जन तथा रोजगारमूलक तालिम प्रदान गरिएकोमा ५४६ जनाले साना तथा मध्यम स्तरको स्वःरोजगारमूलक व्यवसाय सञ्चालन गरेको छ ।

कृषिमा यान्त्रीकरण तथा व्यावसायिक कृषिको लागि २११ वटा मिनी टिलर, ४२ वटा विद्युतीय मकै छोडाउने मेसिन, ४५७ वटा विद्युतीय स्प्रेयर, ४८ वटा थ्रेसर, ६० वटा माटो परीक्षण उपकरण, ४५ घार मौरी वितरण गरिएको छ । कृषकको पशुधन सुरक्षाको लागि वीमा शुल्कमा १५ प्रतिशत अनुदान, गोठ खोर सुधार कार्यक्रम, पशुपक्षी खोप कार्यक्रम, बाख्रा, बङ्गुर, कुखुराका चल्ला, उन्नत जातको घाँस वितरण तथा बाख्रा पकेट कार्यक्रम र पशुपक्षी घुम्ती शिविर सञ्चालन गरिएको छ । नेपालको पहिलो नगरपालिका मोबाइल एप्स सञ्चालन गरिएको, वडा कार्यालय सम्म आफ्नै फाइबर विस्तार गरी सोही मार्फत विभिन्न ५५ स्थानमा सिसिटिभी जडान गरी जिल्ला प्रहरी कार्यालय मार्फत अनुगमनको व्यवस्था मिलाइएको साथै २० स्थानमा फ्री वाई फाइ जडान गरिएको छ ।

सबै वडाबाट सबै प्रकारका कर तिर्ने व्यवस्था सहित घरमै बसेर कर तिर्नको लागि ई–पेमेन्ट सिस्टमको विकास गरिएको छ । उच्चस्तरीय भिडियो कन्फरेन्स हल व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र नक्सा पासलाई डिजिटाइजेसन गरिएको छ ।अन्तर्राष्ट्रिय रूपमा नगरलाई पहिचान गर्न सहयोग पुगेको छ भने नगरको चौतर्फी विकासको लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू बल्र्ड बैक, युनिसेफ, युएसआईडी, वर्ल्ड हेल्थ अर्गनाईजेसन, सेभ द चिल्ड्रेन, आईसिएलईआई, आदि संस्थाहरूसँग सहकार्य गरी धुलिखेल नगरपालिकालाई अन्तर्राष्ट्रिय रूपमा पहिचान गर्न मद्दत पुगेको छ ।

अब चाहिँ के गर्नुहुन्छ ?
​​​​​​​आगामी ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, खानेपानी र सरसफाइ रोजगार, संस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशी, समतामूलक, न्यायपूर्ण र दिगो विकास गरी नेपालकै अग्रणी नमुना नगरको रूपमा धुलिखेल नगरपालिकालाई स्थापित गर्ने छौँ । यसको लागि धुलिखेल नगरपालिकामा अनुभवी, योग्य, ईमान्दार र सक्षम नेतृत्वको चयन गर्न चाहन्छौ । हाम्रो नेतृत्वमा हामी आगामी ५ वर्ष भित्रै गुणस्तरीय, दिगो र उत्थानशील पूर्वाधार विकास, सडक/यातायातमा दीर्घकालीन योजना तयार गरिएको छ । सबै वडा केन्द्रसम्म जोड्ने सडक कालो पत्रे गरिनेछ । सबै वडालाई जोड्ने गरी धुलिखेल चक्रपथ निर्माण गरिनेछ । ग्रामीण सडकहरूलाई १२ महिना चल्न सक्ने गरी स्तरोन्नति गरिनेछ । १५ मिनेटको दूरीमा सडक यातायातको पहुँच पुर्‍याइनेछ ।

विद्युतीय नगर बस सञ्चालन गरिनेछ । विभिन्न ठाउँमा चार्जिङ्ग स्टेसनहरू निर्माण गरिनेछ ।सबै गाउँ तथा बस्तीहरूमा थप स्तरीय सडक सञ्जाल विस्तार गरिनेछ । अत्याधुनिक बहुउद्देश्यीय बसपार्क निर्माण गरी बसपार्कलाई सुव्यवस्थित गरिनेछ । वि.पी. राजमार्गलाई नगर क्षेत्र भित्र ६ लेनमा विस्तार गर्न पहल गरिनेछ । सूर्य विनायकदेखि धुलिखेलसम्म अरनिको राजमार्गलाई धुलिखेलसम्म ८ लेनमा विस्तर गर्न पहल गरिनेछ ।

खानेपानी र सरसफाइ तर्फ एक घर एक धाराको माध्यमबाट सम्पूर्ण नागरिकहरूको सुद्ध र स्वच्छ पिउने पानीको पहुँच पुर्‍याइनेछ ।खाने पानीमा आत्मनिर्भर सहर बनाइनेछ । अति विपन्न गरिब परिवारलाई मासिक १० युनिटसम्म निःशुल्क खानेपानी उपलब्ध गराइनेछ । मुख्य सार्वजनिक स्थल तथा चोकहरूमा सार्वजनिक शौचालय निर्माण गरिने छ । खानेपानीको सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानी युक्त नगर घोषणा गरिने छ । आवास, बस्ती विकास तथा खेलकुद पूर्वाधार निर्माण गरिनेछ । धुलिखेल नगरपालिका तयार गरेको भू–उपयोग गुरुयोजना बमोजिम योजनाबद्ध र व्यवस्थित सहरी विकासको कार्य अगाडी बढाइनेछ । धुलिखेल नगरलाई सुरक्षित, व्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रूपमा विकास गरिनेछ । नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ ।

नगरपालिका भित्र राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरिनेछ । धुलिखेल खेलमैदानलाई क्षेत्रीय रङ्गशालाको रूपमा विकास गरिनेछ । सबै वडा केन्द्रहरूमा व्यवस्थित बजार केन्द्र र सुविधा सहितको सेवा केन्द्रहरू स्थापना गरिनेछ ।एक वडा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरिनेछ । फोहर मैलाको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिलसाइटको पूर्वाधार निर्माण गरिनेछ । सबै वडामा व्यवस्थित ढल निकासको निर्माण गरिनेछ । धुलिखेल तथा श्रीखण्डपुरमा रहेको फोहर पानी प्रशोधन केन्द्रको क्षमता वृद्धि गरिनेछ ।लेदोजन्य तथा ठोस फोहोर मैलाको थप प्रशोधन केन्द्रको निर्माण गरी फोहोर मुक्त सहर निर्माण गरिनेछ । अति विपन्न गरिब परिवारलाई १० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराइनेछ ।सबै वडाहरूमा विद्युतीकरणलाई व्यवस्थित गरिनेछ । सबै व्यक्तिहरूमा सञ्चारको सुविधा पुर्‍याइनेछ । सबै वडाहरूमा सूचना प्रविधिको सुविधा पुर्‍याइनेछ र प्रशासनिक कार्यलाई कागज रहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोबाइल एप्सको प्रयोग गरिनेछ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गरिनेछ । हरेक वडालाई कम्तीमा एक कृषि उत्पादन केन्द्रको रूपमा विकास गरिनेछ । खेतीयोग्य भूमिहरूमा सिँचाइ सुविधा विस्तार गरिनेछ । सिँचाइ व्यवस्थापनका लागि प्लास्टिक पोखरी, आकासे पानी सङ्कलन, स्प्रिकल तथा थोपा सिँचाइ जस्ता उपयुक्त प्रविधिहरूको विस्तार गरिनेछ ।आधुनिक सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ । मासु पसलहरू र मार्टहरू सञ्चालनमा ल्याइनेछ ।धुलिखेल नगरलाई तरकारी, दूध, फलफूल, खाद्यान्न र मासुमा आत्मनिर्भर बनाइनेछ । नगर क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाहरूको थप उजागर र संरक्षण, पर्यटन क्षेत्रको थप पूर्वाधार विकास गरी पर्यटकीय नगरको रूपमा राष्ट्रिय पहिचान बनाउँदै धुलिखेललाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकसित गरिनेछ ।

धुलिखेलको ठुलो वन क्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रूपमा विकसित गरिनेछ । धुलिखेलमा अध्ययन गर्ने विद्याथीहरुलाई स्नातक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गरिनेछ । अपाङ्गता भएका नागरिकलाई स्नातकोत्तरसम्म अध्ययनका लागि निःशुल्क गरिनेछ । स्वास्थ्य विमा निःशुल्क उपचार: स्वस्थ नागरिक जिम्मेवार स्थानीय सरकार, स्वास्थ्य क्षेत्रमा बहुआर्थिक अभियान सञ्चालन गरी स्वास्थ्य सहर कार्यक्रम सञ्चालन गरिनेछ र स्वास्थ्य सहर घोषणा गरिनेछ । धुलिखेल अस्पतालसँग सहकार्य गरी सबै स्वास्थ्य संस्थाहरूको सेवामा सुधार गरी नागरिकहरूको नियमित जाँच र गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गरिनेछ ।नगर क्षेत्रभित्र सुविधा सम्पन्न ट्रमा अस्पताल निर्माण र सञ्चालन गरिनेछ ।

समानता तर्फको महिला यात्रा: समाजवाद उन्मुख धुलिखेलको विशेषता भन्ने नाराका साथ लक्षित वर्गहरूलाई विकासको मूल प्रवाहमा ल्याउन सहजीकरणको लागि नगरपालिकामा महिला परिषद्, युवा परिषद्, दलित परिषद्, आदिवासी जनजाति परिषद्हरू मार्फत कार्यान्वयन गरिनेछ । परम्परागत र मौलिक ज्ञान, सीप तथा प्रविधिहरूको पहिचान गरी तिनीहरूको संरक्षण तथा प्रवर्द्धन गरिनेछ । गरिबीका रेखामुनि रहेका परिवारहरूको पहिचान गरी आर्थिक क्रियाकलापहरूमा सहयोग गरिनेछ । उनीहरूलाई आवश्यक सहुलियत, छुट र प्राथमिकताको व्यवस्था गरिनेछ ।

छुवाछुतमुक्त सहर बनाउँदै सबै खालको विभेद अन्त गरिनेछ । सबै सार्वजनिक पूर्वाधारमा अपाङ्गमैत्री बनाइनेछ ।सम्मान र मर्यादित जीवन यापन तथा स्वास्थ्य सेवाको सहज पहुँचमा जोड दिइनेछ । निःशुल्क स्वास्थ्यको लागि स्वास्थ्य विमा गरिनेछ ।राष्ट्रिय स्तरको खेलको विकास तथा वार्षिक रूपमा प्रतियोगिता गरी खेलाडीलाई प्रोत्साहन गरिनेछ । बहुउद्देश्यीय कभर्डहल, राष्ट्रिय स्तरको खेल मैदान निर्माण, धुलिखेल खेलमैदानलाई क्षेत्रीय रङ्गशालाको रूपमा विकास गरिनेछ ।

कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ । टुहुरा संरक्षण कार्यक्रम नगरमा रहेका बाबुआमा विहीन बालबालिकाहरूलाई प्रदेश सरकारले प्रदान गर्ने मासिक भत्तामा शत प्रतिशत थप गरी प्रति महिना रु ४००० का दरले उपलब्ध गराइ समाजमा पुनर्स्थापित हुने वातावरण गराइनेछ ।जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा भएको र पार्ककै पार्कको सहरको रूपमा विकास भइरहेको सन्दर्भमा नगरको पायक पर्ने ५ स्थानमा बाल सिकाई केन्द्रको रूपमा विकास गर्ने गरी बालमैत्री पार्कको स्थापना तथा सञ्चालन गरिनेछ ।

खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री धुलिखेल नगरपालिका भन्ने नाराका साथ समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित ज्येष्ठ नागरिकहरूलाई शंखुमा निर्माण भएको ज्येष्ठ नागरिक भवनमा पुनर्स्थापित गरिनेछ ।सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्ने क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू गरिनेछ । सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी ई गर्भनेनसलाई लागू गरी अनलाइनबाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ ।

वडा स्तरीय कार्यक्रम चाहिँ ?
एक वडा एक विशेषताका साथ अभियान सञ्चालन गरिनेछ । वडा नम्बर १ मा पर्यटन,माउन्ट स्पोर्टस, बौद्ध अध्ययन केन्द्र, कृषि अध्ययन केन्द्र, वडा नम्बर २ मा दुग्ध, तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र, वडा नम्बर ३ मा पर्यटन, तरकारी र बिउ विजन उत्पादन पकेट क्षेत्र, वडा नम्बर ४ मा शैक्षिक केन्द्र तथा व्यवस्थित सहरीकरण क्षेत्र, बडा नम्बर ५ मा सांस्कृतिक र सम्पदा तथा आवासीय क्षेत्र, बडा नम्बर ६ र ७ पुरातात्त्विक सम्पदा संरक्षण, संस्कृति, पुरानो मौलिक बस्ती संरक्षण, व्यावसायिक केन्द्र तथा आवासीय क्षेत्र, वडा नम्बर ८ मा पर्या–पर्यटन, पार्क, होमस्टे, कृषि तथा कृषि अध्ययन केन्द्र, वडा नम्बर ९ मा पर्यटन, स्वास्थ्य सेवा, आवासीय तथा कृषि क्षेत्र, वडा नम्बर १० औद्योगिक, कृषि तथा फलफूल पकेट क्षेत्र, वडा नम्बर ११ मा पर्यटन, होमस्टे, कृषि तथा जैविक विविधता क्षेत्र र वडा नम्बर १२ धान खेती, सुन्तला खेती, पर्यटन र सांस्कृतिक क्षेत्र स्थापना गरिनेछ ।

काम चाहिँ के के भए ?
पाँच वर्षमा थुप्रै काम भएका छन् । यो अवधिमा भएका मुख्य मुख्य कामहरूबाट नै नगर नमुना बन्न सफल भएको छ । शिक्षा बाल विकास र सरसफाइको क्षेत्रमा उल्लेख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ भने कालोपत्रे सडक ३४ किमी, ग्राभेल सडक ७१ किमी, कच्ची मौसमी सडक ३२० किमी र ढलान सडक ५ किमी थप निर्माण गरिएको । गाउँ बस्तीका सबै टोलहरूमा सडक सञ्जाल जोडिएको छ । १००० जना क्षमताको सभा हल निर्माण, १ वटा सपिङ कम्प्लेक्स, ५ वटा स्वास्थ्य केन्द्र भवन निर्माण १५ शय्याको अस्पताल निर्माणाधीन र १ वटा सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको छ ।

आधारभूत विद्यालय तहमा एमजीएमएल कार्यक्रम सञ्चालन गरी गुणस्तरीय शिक्षाको विकासमा सुधार गरिएको छ । १८ वटा विद्यालयको २४ वटा सुविधा सम्पन्न भवनमा १ सय ४० कोठा निर्माण गरिएको छ । थप ६ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरिएको छ । नगर शिक्षक दरबन्दी सिर्जना गरी विषयगत शिक्षक व्यवस्थापन गरिएको छ । धुलिखेल नगर स्थित क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ । सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र आई.सि.टि. ल्याब व्यवस्था गरिएको छ । ट्याङ्की निर्माण ३० वटा, डिपो बोडिङ्ग ६ वटा र ३८१९ घरधुरीमा एक घर एक धारा निर्माण गरिएको छ । २२६ हेक्टर, ट्रिटमेन्ट प्लान्ट २ वटा, झोलुङ्गे पुल २ वटा निर्माण गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ३३ बजे