मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ?

उदयपुर । आसपासका बस्तीमा स्थानीय तह निर्वाचन प्रचारप्रसारमा गीत र नारा घन्किए पनि उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा भने गिट्टी कुटेको कर्कश आवाज मात्रै आउँछ । गिट्टी कुट्ने मजदुरलाई न निर्वाचनको चासो छ न त आज मजदुर दिवस (मे दिवस) भन्ने नै ख्याल छ । उनीहरूको एकोहोरो ध्यान छ बेलुका परिवारको पेट कसरी पाल्ने ?

‘दिनभर गिट्टी नकुटी खान पाइन्न कसरी निर्वाचन बारे बुझ्न हिँड्नु ? त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका–१२ का बोटकी श्रीमती विन्दा पनि निर्वाचन बारे केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘के को निर्वाचन हो र ?’

बोट दम्पती मात्रै होइनन् त्रियुगा नदीको त्रिवेणी घाट मजदुरी गर्ने धेरैलाई के को निर्वाचन भइरहेको छ भन्ने थाहा छैन । नदी किनारमै भेटिएकी मन्जुर चौधरीले भनिन्, ‘एक ट्रयाक्टर गिट्टी बेच्दा एक हजार ज्याला पाइन्छ नेताको पछि लागेर के पाइन्छ र ? बेलुका भोकै सुत्नुपर्छ ।’ उनले खेतीपाती गर्न जग्गा नभएको र सडक नबढारे, गिट्टी नकुटे विहान बेलुकी चुलो नबलने बताइन । 

अर्का मजदुर रामकुमारी चौधरीका दम्पतीले पनि अहिलेसम्म कसैले भोट नमागेको बताए । त्रियुगा नगरपालिका–१३ मा घर ढलानसम्बन्धी काम गरिरहेकी रामकुमारीले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै हुन्छु के को निर्वाचननै थाहा छैन ।’ 

निर्वाचनले कहिल्यै नछुने उनीहरू मात्रै होइनन् । दैनिक ज्याल मजदुरी गरेर खानेहरू धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा गिट्टी कुट्नेहरूलाई स्थानीय तह निर्वाचन भनेको के हो भन्ने समेत थाहा छैन । 

बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्रै बस्तीमा उम्मेदवारहरू आउने गरेको बताइन । ‘निर्वाचनको अघिल्लो दिन बस्तीमा भोज चल्छ,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन् त्यसैलाई भोट हालिन्छ ।’ 

मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरू प्रचारप्रसारमा उत्रिएका छन् । 

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : २४ बजे