‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्थानीय तह निर्वाचन : श्रमिक र श्रम सम्बन्ध

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस १ सन् १८८६ देखि प्रत्येक वर्ष मई महिनाको १ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । यस हिसाबले संसारमा श्रमिक दिवस मनाउन सुरु गरिएको १३५ वर्ष पूरा भई १३६ औँ वर्ष प्रारम्भ भएको छ । 

श्रमिक दिवस मनाउनुको तात्पर्य श्रम तथा श्रमिकप्रति सम्मान गर्नु, सम्मान जगाउनु हो । श्रमिक दिवसले दिनुपर्ने सन्देश र यसबाट लिनुपर्ने शिक्षा भनेको हरेकले गर्ने, भिन्न भिन्न क्षेत्रका श्रम तथा श्रमिकप्रति सम्मान गर्नु र श्रम गरेर खान प्रेरित गर्नु हो । तर, अहिले पनि श्रमिकहरूप्रति मानिसका व्यवहार सम्मानजनक भइसकेको छैन । यहाँसम्म कि नेपालको संविधानमा व्यवस्था गरिएका हकहरूबाट समेत श्रमिकहरू वञ्चित रहेका छन् । यस दिवसबाट श्रम सम्बन्धमा सुधार गर्ने प्रेरणा पनि लिनुपर्ने हुन्छ । असल श्रम सम्बन्ध नभई उत्पादन क्षेत्र सकारात्मक हुन सक्दैन । उत्पादन क्षेत्र कमजोर हुँदा बहुआयामिक नकारात्मक परिणाम आउनु स्वाभाविकै हो । 

ऐतिहासिक श्रमिक आन्दोलनको मुख्य माग श्रमिकहरूले काम, आराम र मनोरञ्जनका लागि ८—८ घण्टा समय पाउनुपर्ने अधिकार थियो । त्यो मूलतः औद्योगिक क्षेत्रमा (कलकारखाना) काम गर्नेहरूका लागि थियो । औद्योगिक आर्थिक क्रान्ति भएका र हुँदै गरेका देशहरूका श्रमिक वर्गका लागि लक्षित यो आन्दोलन क्रमशः अन्य क्षेत्रमा पनि लागू हुँदै आएको छ । तर, ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका हिसाबले श्रमको समय ८ घण्टा तोकिएको भए पनि श्रमिकहरूका अन्य आधार अधिकार र सुविधा भने प्राप्त हुन सकेको छैन । समयले मात्र श्रमिकको अधिकार सुनिश्चित हुन सक्दैन । 

हरेक श्रमिक सम्मानित र श्रमका हरेक क्षेत्र सुरक्षित हुनुपर्दछ । श्रमको सम्मान तथा श्रमिक वर्गको अधिकारको सुनिश्चितताका लागि राज्यका हरेक निर्णायक तहमा कम्तीमा तोकिएको प्रतिशतमा (१० प्रतिशत) श्रमिक वर्गको प्रत्यक्ष सहभागिताको प्रावधान कार्यान्वयन गर्नु राज्यको दायित्व हो । 

अहिले नेपालमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनमा श्रमको सम्मान र श्रमिकका हक हितका सन्दर्भमा राजनीतिक दलहरूका घोषणा र प्रतिबद्धता के कस्ता छन् रु कुन दलले श्रमिकका विषय उठान गरेका छन् र त्यसको कार्यान्वयनका आधारहरू कस्ता छन् रु यहाँ सबै श्रमयोग्य जनशक्तिले देशभित्रै श्रम गरेर बाँच्न र परिवारको आर्थिक दायित्व पूरा गर्न सक्ने अवस्था रहेको छैन । श्रमकै अधिकार नभएपछि श्रमिक प्रतिको सम्मान कसरी होला रु स्थानीय तह भनेको लोकतन्त्रको जग हो, समाजवादको आधार हो, सङ्घीयताको धरातल हो । स्थानीय तह श्रममैत्री, श्रमिकमैत्री हुनुले राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्दछ । नेपालको श्रमिक वर्गले आसन्न स्थानीय तह निर्वाचन श्रम, श्रमिक र श्रम सम्बन्धका लागि महत्त्वपूर्ण सन्दर्भ हो । 

श्रमको सुनिश्चितता, श्रमप्रति सम्मान र श्रमिकका हक—हितको ग्यारेण्टी नगरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा हुन सक्दैन । अहिले श्रम तथा श्रमिकप्रति सम्मानको विषय समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्पभित्र देख्न सकिन्छ ।  

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्पभित्र श्रम सिर्जना, श्रमको हक, मैत्रीपूर्ण श्रम सम्बन्ध र श्रमिकका अधिकार अन्तर्निहित छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै प्रकारका श्रममा संलग्न श्रमजीवीहरूमा उच्च सम्मानसाथ हार्दिक शुभकामना ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : १८ बजे