‘विश्वका मजदुर एक होऊ, तिमीले गुमाउने तिम्रा हातमा लगाएको हतकडी बाहेक अरू केही छैन पाउने सारा संसार छ’ । कार्ल मार्क्सको यही नारा आज पनि मे दिवसका बेला विश्वभरि गुञ्जायमान गर्ने गरिन्छ ।
बर्षौंदेखि विकसित बिकासिशील जुनसुकै देशमा यस्तै हुँदै आएको देखिन्छ । मजदुर को हो?, किन हो?, कुन कुन विवशता र बाध्यता छ?, तिनका दुःख दर्दहरू के छन्?, उनीहरूलाई यो विवशताबाट मुक्ति किन मिलिरहेको छैन?, किन एक व्यक्ति होइन पूरा परिवार नै मजदुर हुने गर्दछ?, किन एक पीढी पछि अर्को पीढीमाथि मजदुरीको बोझ पर्ने गर्दछ? यस्ता धेरै गम्भीर प्रश्नहरू उठाउने र छलफल गर्न थाल्ने हो भने अनेक व्यवहारिक कठिनाइहरू र समस्याहरू खडा हुन थाल्दछन् ।
यस कारण यस्ता प्रश्नहरूबाट तर्किएर सङ्घर्ष, आन्दोलन, एकता जस्ता शब्दावलीहरूको सहारा लिँदै र क्रान्तिकारी आवरण बनाउँदै अन्तर्राष्ट्रिय मे दिवस अर्थात् मजदुर दिवस मनाउने औपचारिकता पूरा गरिने गरिन्छ ।
कार्ल मार्क्सले जति बेला विश्वका मजदुरहरूको कुरा गरेका थिए त्यति बेला पुँजीवादी शक्तिहरूले जोड पक्रिसकेको थियो, औपनिवेशिक दासता ठाउँ ठाउँमा कायम गरिएको थियो । साम्यवादले सङ्घर्षको नयाँ इतिहास लेखिरहेको थियो र विश्वले लोकतन्त्रको कखरा सिक्दै मात्र थियो । त्यसपछि विश्वको स्थिति बद्लियो ।
धेरै देशहरूले स्वाधीनता हासिल गरे, आफ्नो संविधान आफै पनि बनाए, राजनीति व्यक्ति र धर्म केन्द्रित हुनको साटो जन केन्द्रित पनि हुन थालेको भान भयो, शताब्दीयौंदेखि दबेका कुल्चिएका मानिसहरूको हातमा निर्णायक शक्ति आएको जस्तो पनि भान पर्यो । यो परिवर्तन मानव सभ्यताको एउटा महत्त्वपूर्ण क्रम र कालखण्ड भने अवश्य थियो नै । जसरी आगो र चक्का आविष्कारले मानिसलाई सभ्यताका धेरै खुट्किला चढाइदिए त्यसरी नै राजनीतिक स्वतन्त्रता र त्यसबाट हासिल अधिकारहरूले मानिसलाई अझ अघि बढाउन मद्दत गर्यो ।
विश्वका धेरै देशहरूमा आज विकासको जुन झण्डा फरफराई रहेको छ त्यो यसै अधिकारका कारणले हो । तर विश्वका कयौँ देशहरूका बारेमा अझै पनि निराशा कै स्थिति छ । लोकतन्त्रको तक्मा लगाएको संविधान भएर मात्र हुने रहेनछ । व्यवहारमा सामन्ती एवम् दलाल पुँजीवादी मानसिकता छ्यापछ्याप्ती भएपछि परिवर्तनको पद चिन्ह र पदचाप नै बिलुप्त हुन जाँदो रहेछ ।
यस्तै चरित्र र व्यवहारले गर्दा आज देशका मजदुर, किसान राष्ट्रिय पुँजीपति लगायतका सम्पूर्ण श्रमजीवी जनता कुनै पनि दलहरूको केन्द्रीय बहस र छलफलको विषय बस्तु बन्न सकेका छैनन् र बन्ने गर्दैनन् ।
हुन त चुनावका बेला जनता अलमल्याउन अनेक छद्म नाराहरू अघि सार्ने गरिएको छ । जनताका आधारभूत समस्याहरूबाट उनीहरूलाई बिषयान्तर गर्नका लागि अनेक झूटा सपना पनि देखाउने गरिन्छ तर उनीहरूका आधारभूत र खास मुद्दा या विषय बस्तुमा केन्द्रित र तल्लीन हुने कुराबाट मुख मोडिन्छ र तिनलाई नछोईकन अलग्गै छोडिन्छ ।
यो एउटा अत्यन्तै गम्भीर र दुःखदायी कुरा हो कि एकातिर देशका थोरै मानिसहरूको हातमा अत्यधिक अर्थात् आधाभन्दा बढी सम्पत्ति केन्द्रित छ । अर्कोतर्फ विपन्न मजदुर किसानको हातमा न्यूनतम राष्ट्रिय आयको कुरोकन्थोसम्म कतै चल्दैन र छैन प्रावधान राख्ने कुरा त टाढैको कुरा भयो ।
हरेक देशले आफ्नै हिसाबले न्यूनतम आय निर्धारण गर्ने गर्दछन् । मानौँ एउटा देशको मजदुरको भोक अर्को देशको भन्दा बढी या कम हुने गर्दछ । चुनाव लड्ने दलहरूको घोषणापत्रमा पनि मजदुर वर्गको कुरा उनीहरूको जीवन सुरक्षित र असल भए जस्तै गरी कुनै वास्ता गरिएको हुँदैन या उनीहरूका लागि केही सहुलियतका नारा राखिदिएर छुट्टी लिइन्छ ।
मानिसले बाच्न पाउने अधिकार भनेको उसले खान लगाउन र बस्न पाउने न्यूनतम आधार राज्यले तय गर्नु र त्यसको परिपालना गर्नु गराउनु हो । मूलतः त्यही नै मानवअधिकारको पनि आधार हो । त्यसको अभावमा श्रमजीवी वर्गले मानव अधिकार कसरी हासिल गर्न सक्छ र !
वास्तवमा जबसम्म श्रमजीवी वर्गले जीवन धान्ने न्यूनतममा आधार पाउँदैन, उनीहरूलाई बर्गल्याउन जाति, धर्म अर्थात् मठ, मन्दिर, गुम्बा, विहार, मस्जिद, चर्च आदि अनेक संस्कृति, क्षेत्र आदिका नाममा विभाजित र भ्रमित तुल्याइन्छ तबसम्म कार्ल मार्क्सले भने जस्तो विश्वका मजदुरहरू एकजुट हुने आधार बन्दैन । उनीहरूको मुक्तिको बाटो कमजोर हुन्छ । उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पाउन सक्ने कुनै बस्तुगत अवस्था सिर्जना हुँदैन । त्यसैले मजदुर दिवस अर्थात् मे दिवस मनाउने गर्दा मजदुर वर्गका गम्भीर समस्याहरूप्रति गरिखाने वर्गलाई सचेत, सङ्गठित र सङ्घर्षशील तुल्याइनु अत्यावश्यक छ ।
जसले गर्दा उनीहरूका मूलभूत समस्याहरूमाथि राज्य र समाजको ध्यान केन्द्रित होस् । अन्यथा मार्क्सले जुन शोषणरहित समाजको निर्माणको दिशा बोधका साथ ‘संसारका मजदुर एक होऊ’ भन्ने नारा दिएका हुन् र ‘उनीहरूसँग गुमाउने कुरा आफ्नो हतकडी मात्र हो पाउने कुरा सारा संसार छ’ भनेका हुन् यथार्थता त्यसको मर्म सार्थकता र उपादेयताको छेउसम्म पनि पुग्न सकिने छैन । यो अकाट्य कुरा हो । यी नै भावनाका साथ सम्पूर्ण श्रमजीवी वर्गमा १३२औँ मे दिवसको उपलक्षमा शुभकामना
प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ९ : ३६ बजे
प्रतिक्रिया