ललितपुर महानगरमा उम्मेदवारको घरदैलो अभियान सुरु

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारहरूले उल्लासका साथ घरदैलो अभियान सुरु गर्नुभएको छ । 

महानगरको विकासका योजनासहित उम्मेदवारहरू चुनावी घरदैलो सुरु गर्नुभएको हो ।

एमालेका उम्मेदवार सहितका नेता कार्यकर्ताले जनताको हितमा काम गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै वडा नं. ७ र ८ च्यासलबाट घरदैलो अभियान सुरु गरिएको मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।

“यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टी विजय भएपश्चात् यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ ।”, उहाँले भन्नुभयो । 

कला र संस्कृतिले भरिपूर्ण सो महानगरपालिकामा विभिन्न सम्भावना खोजी गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरूले बोकेको उहाँको धारणा थियो ।

उपमेयरका उम्मेदवार मञ्जली शाक्य (आस्था)ले महानगरवासीको हक अधिकार सुनिश्चित गर्न आफू आसन्न निर्वाचनमा प्रतिस्पर्धामा उत्रेको बताउनुभयो । “हाम्रो सरकार आएमा कसैले पनि भोकै र नाङ्गै हुनुपर्ने छैन । समाजमा शिक्षा, स्वास्थ्य, खानपान, रोजगार आदिको व्यवस्था अब एमालेको सरकारले नै गर्ने छ ।”, उहाँले भन्नुभयो । यस पटक महानगरवासीले एमाले नै चाहेको हुँदा आफूहरूले राम्रो मतान्तरमा विजय प्राप्त हुने अपेक्षा समेत गरिरहेको उहाँले बताउनुभयो ।

घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागिता थियो । नगरवासीले उम्मेदवारलाई सगुन र फूल मालाले स्वागत गरेका थिए । अधिकांश स्थानीयवासीले यस स्थानीय निर्वाचनमा एमालेलाई शानदार रूपमा विजयी गराउने प्रतिबद्धता दर्साएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : १३ बजे