‘अब दुनियाँको कुनै पनि तागतले मेरो उम्मेदवारी फिर्ता गराउन सक्दैन’ 

भरतपुर । भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले ‘अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताउनुभएको छ । 

पौडेलको उम्मेदवारी फिर्ता गराउन काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुग्नुभए न पनि उहाँहरू निराश बनेर काठमाडौँ फर्किनुभएको छ । 

बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उहाँलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो। पौडेलले गृहमन्त्रीको उक्त आग्रहलाई अस्वीकार गर्नुभएको छ ।

बिहीबार नै प्रधानमन्त्री देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भन्नुभएको थियो । जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका काँग्रेस कार्यकर्ताले निर्णय गर्ने बताउनुभएको थियो । 

पौडेललाई काँग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो।

बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाउनुभएको थियो।  तर पौडेल आउन मान्नुभएको थिएन।

बागी उम्मेदवार पौडेलको घरमा अहिले काँग्रेस कार्यकर्ताको घुइँचो छ। सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै काँग्रेस नेता एवं पूर्व सांसद पौडेलले उम्मेदवारी दिनुभएको थियो । उहाँको पक्षमा चितवनको काँग्रेसको ठुलो पङ्क्ति देखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : १३ बजे