नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष रहनुभएका श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको छ । 

उहाँ काठमाडौँमा बिहीबार भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्नुभएको हो । 

यसअघि, बुधवार हेटौँडामा पत्रकार सम्मेलन गरेर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी अध्यक्ष भएर नेतृत्व गरिरहनुभएका पोखरेलले पार्टीमा व्यक्तिवाद हाबी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनी जस्तै भएको भन्दै पार्टी छाडेको घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादी छाडेको भोलिपल्टै पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको हो । 

पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरू उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला पनि नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ५१ बजे