चितवनमा चार तले भवनमा आगलागी हुँदा करोडौँको क्षति 

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चार तले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । 

स्थानीय तुल्सीराम सापकोटाको चार तले घरको पहिलो तलामा विभिन्न विभिन्न व्यक्तिले सञ्चालन गरेको इलेकट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो ।

राति २:०० बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहायतामा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । “फेन्सी, इलेकट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ”, उहाँले भन्नुभयो, “विद्युत् सर्ट भएर आगलागी भएको हो कि भनेर अनुमान गरेका छौँ । चार तले घरको तलको दुई तलामा आगोले क्षति पुर्‍याएको हो ।”

चार तले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेकट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागी भएका ६ वटा पसलका सञ्चालक सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

आगलागीपछि भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी निरीक्षणका लागि पुग्नुभएको थियो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ३९ बजे