एमाले अध्यक्ष ओली प्रदेश १ को चुनावी अभियानमा जानुहुँदै, झापाका तीन ठाउँमा सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ को तीन दिने चुनावी अभियानमा सहभागी हुन आज गृह जिल्ला झापा जानुहुने भएको छ । 

विगत केही समयदेखि निरन्तर चुनावी अभियानमा रहनुभएका अध्यक्ष ओली टिकट वितरण र मनोनयनको काम सकिएसँगै पुनः अभियानमा सक्रिय हुन लाग्नुभएको हो । चुनावी अभियान अन्तर्गत अध्यक्ष ओली झापा जान लाग्नुभएका अध्यक्ष ओलीले तीन दिन प्रदेश १ मा बिताउने कार्यक्रम रहेको छ । 

अध्यक्ष ओलीले आज तीन स्थानमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो ।

झापाको कार्यक्रम सकिएसँगै अध्यक्ष ओली इलाम जानुहुने कार्यक्रम रहेको छ । इलामपछि पुन झापा फर्किएर गृह नगर दमकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

उहाँले यस पटक चार जिल्ला झापा, इलाम, सुनसरी र मोरङका विभिन्न पालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार अध्यक्ष ओली दमकबाट मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भई राजधानी फर्कनु हुनेछ ।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष नेम्वाङसहित प्रदेश १ का नेताहरू पनि जानुहुने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ३० बजे