बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

कौसी खेतीमा रमाउँदै रामपुरका महिला

रामपुर । लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । पाँचतला माथिका छतमा हरियाली फलेका तरकारी देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, पाल्पा रामपुरका महिलाहरु ।

फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको बताउनुहुन्छ, बेझाड बजार बस्ने विन्दु श्रेष्ठ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उहाँ भन्नुहुन्छ । उहाँको छतमा सबैजसो तरकारी फलेकै हुन्छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । युट्युब हेरेर छतमा तरकारी लगाउन थालेपछि किनेर खानु नपरेको उहाँ भनाइ छ । 

जमिनमा लगाएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरो कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने उहाँको अनुभव छ । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिन्छ । 

“आलु र दाल मात्रै किने भयो, फरक–फरक खालका तरकारी सबै छतभरि नै लटरम्म फलेका छन्, जमिनमा तरकारी लगाउँदा रोग कीरोले धेरै सताउँथ्यो, गाईवस्तुले खाने समस्याले पिरोल्थ्यो भने छतमा लगाइएको तरकारीमा रोग कीरो  कम लाग्ने गरेको पाइएको छ,” उहाँले भन्नुभयो । उहाँको छतमा अहिले करेला, घिराँैला, सिमी, काँक्रा, खुर्सानी लगायतका विभिन्न जातका तरकारी छन् । साथै आँप, लिची जस्ता फलफूल, विभिन्न जातका फूलहरु पनि छ । उहाँ भन्नुहुन्छ, “पाँचौँ तलामाथि छतभरि हरियाली तरकारी फलेको देख्दा सबैजना दङ्ग पर्नुहुन्छ, घरमा मात्रै नभई छिमेकी, आफन्तलाई पनि बेलाबेलामा दिन पाउँदा रमाइलो लागेको छ, आफ्नै मेहनतको खान पाइएको छ ।” 

उहाँले छतमा तरकारी लगाउन थालेको करिब आठ वर्ष भयो । श्रेष्ठको व्यवसाय देखेर यहाँका अन्य महिलाहरुले पनि छतमा तरकारी फलाउन थालेका छन् । बिहान साँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको बताउनुहुन्छ, जुनु श्रेष्ठ । उहाँले तरकारीका अलवा छतमा कुखुरापालन, बट्टाइँपालनसमेत गर्नुहुन्छ ।

“तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ,” उहाँले भन्नुभयो । छिमेकीले छतैभरि लटरम्म तरकारी फलाएको देखेपछि आफूले पनि प्रविधि सिकेर तरकारी खेती थालेको उहाँले बताउनुभयो । 

पुष्पा श्रेष्ठले काँक्रा, घिराँैला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाउनुहुन्छ । उहाँको छतमा सबैजसो तरकारी पाइन्छ । मलका लागि कुखुरापालनसमेत गर्नुहुन्छ । 

 छतमा निस्केर हरियाली तरकारी फलेको देख्दा नि सबै तनाव हटेर जाने र फुर्सदको समय तरकारी गोडमेल गर्ने, लगाउने गर्दा शरीर स्वस्थ भएको छ भने दिनहुँ ताजा–ताजा तरकारी खान पाइएको उहाँ बताउनुहुन्छ । “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ,” उहाँले भन्नुभयो । 

कौसी खेतीसम्बन्धी तालिम लिन पाएमा अझ उत्पादन बढाउन सकिने उहाँको भनाइ छ । बिना तालिम तरकारी लगाउँदा राम्रै उत्पादन भएको छ भने अब यसलाई विस्तार गर्न प्रविधिको आवश्यक छ । 

 रामपुर नगरपालिका क्षेत्रमा मात्रै करिब एक दर्जन घरका छतमा लटरम्म हरियाली तरकारी फलेका छन् । तरकारी किन्ने पैसा बचत भएको छ भने आफूले नै उत्पादन गरेको स्वस्थ ताजा तरकारी खान पाइएको छ । 

कौसी खेती महिलालाई समय बिताउने माध्यम बनेको छ । जग्गाको अभावमा पनि घरायसी प्रयोजनका लागि छतमै तरकारी फलाउन सकिन्छ भन्ने यहाँका महिलाहरु उदाहरणीय बनेका छन् । मेहनत र परिश्रम गरियो भने घरका छतलाई नै करेसाबारी बनाउन सकिन्छ । रासस

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ४५ बजे