काँग्रेसको टिकट वितरणमा आर्थिक चलखेल र विकृति भयो : डा.शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता हुँदा समस्या भएको बताउनुभएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा आर्थिक चलखेलले इमानदार र निष्ठावान् कार्यकर्तालाई अन्याय गरिएको बताउनुभयो । 

“टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोग्दैछन।” विज्ञप्तिमा भनिएको छ, “‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन्। कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन् जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्। ”

काङ्ग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट नदिइएको उल्लेख गर्नुहुँदै नेता डा.कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने बारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा आवाज उठाएको बताउनुभएको छ । 

“काँग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ ।” उहाँले विज्ञप्ति उल्लेख गर्नुभएको छ ।

उहाँले जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुग्नुपरेको र स्वतन्त्र उम्मेदवार दिनुपरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ०१ बजे