‘नेशनल डे कन्सर्ट’ सम्पन्न

निर्वाचनले लोकतन्त्र बलियो बनाउने हो, समाजलाई बाँड्ने र भाँड्ने नबनाऊँ

सङ्घीय संविधान कार्यान्वयन भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न हुन गइरहेको छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्य भइसकेको छ । राजनीतिक वातावरण उत्साहजनक देखिन्छ । दाबी विरोध, फिर्ता लिने समय आदिका कारण उम्मेदवारको अन्तिम सूची आइसकेको छैन । त्यसैले को को र कति उम्मेदवार भन्ने टुङ्गो लागिसकेको छैन । यो प्रक्रिया पूरा भएपछि वास्तविक सङ्ख्या र प्रतिस्पर्धीबारे यकिन हुनेछ । 

निर्वाचन नागरिकका लागि ठुलो अवसर हो । निर्वाचनको माध्यमबाट नागरिकले सरकार सेवक छान्न पाइन्छ । यसै त व्यक्ति नै जनप्रतिनिधि छानिने हो, तर बहुदलीय व्यवस्थामा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुन्छ । जोसुकैलाई मतको प्रत्याशी—उम्मेदवार बनाए पनि दलको दृष्टिकोण, योजना, विचार र जिम्मेवारी समेटिएको घोषणापत्र लिएर नै दलका उम्मेदवार नागरिक समक्ष जान्छन् । उम्मेदवारहरू सोही अनुसार काम गर्न प्रतिबद्ध हुन्छन् । यसो नहुँदा वा विपरीत गर्दा पार्टीले उनीहरूमाथि नियन्त्रण गर्दछ । त्यसैले दलीय—बहुदलीय व्यवस्थामा व्यक्तिभन्दा दल प्रमुख हुन्छ । व्यक्ति विजयी — पराजयी हुँदा पनि यसको गणना दलमा नै हुने गर्दछ । लोकतान्त्रिक व्यवस्थामा मुख्य प्रतिस्पर्धा दलहरूकै बीचमा हुन्छ । 

अतः बहुदलीय प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार हुन पाउने अधिकार त हुन्छ, तर त्यसको जिम्मेवारी लिने संस्था नहुँदा व्यक्तिलाई सही बाटोमा हिँडाउने र सहयोग गर्ने सङ्गठित शक्ति हुँदैन । यसो हुँदा योजनाहरूको कार्यान्वयन फितलो हुन्छ । दलका व्यक्तिले जित्दा उनलाई दलका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूको सहयोग रहन्छ र जनताका कामहरू, योजनाहरू सम्पन्न गर्न सहज हुन्छ । निर्वाचित जनप्रतिनिधिले कुनै कमी—कमजोरी गर्दा पार्टीले सच्याउँछ र आवश्यक नियन्त्रण गर्दछ । मानिस रहन सक्छ, नरहन सक्छ, तर पार्टी त रहन्छ । पार्टीको तर्फबाट उम्मेदवार भई निर्वाचित प्रतिनिधिले खराब काम, आचरण, व्यवहार गरेमा सिङ्गो पार्टी बदनाम हुने कारणले पनि त्यस्ता जनप्रतिनिधिलाई पार्टीले सही बाटोमा हिँडाउने गर्दछ । स्वतन्त्र व्यक्तिलाई कसले सहयोग गर्ने ? कसले नियन्त्रण गर्ने ? त्यसैले निर्वाचनमा मूलतः पार्टी रोज्ने हो, पार्टीभित्रको नै असल मानिस रोज्ने हो । यस विषयमा सबैको ध्यान जान आवश्यक छ । 

हामीले निर्वाचन मार्फत जनप्रतिनिधि छान्ने विषयसँगै बहुदलीय लोकतन्त्रको मर्म पनि सम्झिराख्नु पर्दछ । स्वतन्त्र उम्मेदवारहरू पनि हाम्रो स्वतन्त्र रोजाइमा पर्न सक्दछन्, तर यस्तो निजी—स्वतन्त्र प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउँछ । लोकतन्त्र छ र पो स्वतन्त्र रोजाइ छ, लोकतन्त्र नै कमजोर भयो भने हामीले आफ्ना प्रतिनिधि रोज्न पाउने अवसर पनि कमजोर नै हुनेछ भन्ने हेक्का राख्नुपर्दछ । 

राजनीतिक दलहरू एकापसमा मिल्नु, सहकार्य गर्नु भिन्नै र सकारात्मक नै विषय हो, तर दलीय चुनाव दलका विचार र घोषणापत्रका आधारमा हुने हो । काम गर्दा मिलेर गर्ने हो, निर्वाचन जितेर आधिकारिकता प्राप्त दलको नेतृत्वमा हुने विकास निर्माण, जनसुविधा, सामाजिक सुरक्षा, न्यायका विषयमा अनावश्यक भाँजो हाल्ने काम गर्नुहुँदैन । निर्वाचनमा पनि कतिपय अवस्थामा सामान्य तालमेल गर्नु उचित ठहर्‍याउन सकिएला, एक्ला एक्लै घोषणापत्र मार्फत ठुला सपना बाँडेर एउटा वार्ड मुस्किलले एउटा प्रतिनिधि र पालिका पदाधिकारीमा आफ्नो पार्टीको भागमा एक जना मात्र पर्ने गरी गरिएका गठबन्धनको विजयले कुन दृष्टिकोण, प्रतिबद्धता र घोषणा कार्यान्वयन होला ? यो पक्ष विचारणीय छ । 

हामी समाजमा शान्ति, विकास र समृद्धि चाहन्छौँ । यो प्राप्त गर्न दृष्टिकोण, तदारुकता, योजना, क्षमता र प्रतिबद्धता चाहिन्छ । यसो हुन निर्वाचन स्वच्छ, स्वस्थ, भयरहित, शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्दछ । सबैमा धैर्य चाहिन्छ । अरूका विचार सुन्ने र सहने लोकतान्त्रिक सोच र व्यवहार चाहिन्छ । निर्वाचनको वातावरण अराजक, उच्छृङ्खल, हिंसक भयो भने त्यसले निर्वाचन पछिको वातावरणमा समेत असर पार्दछ । समाज बाँडिन्छ र भाँडिन्छ । त्यसैले सबैले शान्ति, धैर्य, सुझबुझ, सभ्य व्यवहारमा जोड दिनुपर्छ । निर्वाचन लोकतान्त्रिक अभ्यास भएको हुनाले यसको सदुपयोगबाट समाज जोडिन्छ, यसलाई बाँड्ने र भाँड्ने माध्यम नबनाऊँ । 

उम्मेदवारी मनोनयनको प्रारम्भमै केही उत्तेजक गतिविधि भएका समाचार आएका छन् । कोही धारिलो हतियारसहित निर्वाचन कार्यालयमा पुगेको खबर पनि आएको छ । यस्ता गतिविधिहरूलाई समयमै नियन्त्रण गर्नुपर्दछ । दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायले यसतर्फ विशेष रूपमा ध्यान दिनुपर्ने छ । शान्ति, समृद्धि र विकासका लागि त्यस्तै व्यवहार गरौँ । निर्वाचनमार्फत आफ्नो स्थानीय सरकार र सेवक छानौँ । लोकतन्त्र, समाजवाद, समृद्धिको आधार स्थानीय तह नै हो । यसमा गरिने क्रियाकलाप नै हाम्रो सामाजिक चरित्रको रूपमा चित्रित र चिन्हित हुने हो भन्ने विषयमा सबैले हेक्का राखौँ ।  

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : २९ बजे