उदयपुरका ८ वटै स्थानीय तहमा गठबन्धन भत्कियो

उदयपुर – उदयपुरका ८ वटै स्थानीय तहमा सत्ता साझेदारबीच बनेको गठबन्धन भत्किएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा गठबन्धन गर्ने सहमतिको निर्णय लत्याउँदै नेताहरुले वडादेखि प्रमुख पदसम्म बागी उमेदवारी दर्ता गरेका छन् ।

पार्टीका निष्ठावान कार्यकर्तालाई पन्छाएको र नेतृत्वले आफूखुशी गोजीका मान्छेलाई टिकट दिएको भन्दै उनीहरुले असन्तुष्टि जनाई बागी उमेदवार दर्ता गराएका हुन् । उता नेकपा (एकिकृत समाजवादी)ले कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई समानजनक ठाउँ नदिएको भन्दै उमेदवारी दर्ता गराएको छ ।

कटारी नगरपालिकामा माओवादी केन्द्रबाट २०७४ मा मेयर पदमा उठेका पार्टीका प्रदेश कमिटी सदस्य केपी वरालले मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका छन् । त्यसैगरी कांग्रेसका क्षेत्र नं २ अन्र्तगत प्रदेश ‘ख’ का सभापति कृष्ण थापाले उपमेयरमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

त्यस्तै नेकपा एसले माओबादी केन्द्रका जिल्ला अध्यक्षविरुद्ध उपमेयर पदमा वडासदस्य हृदय थिङ्ग तामाङ्गले उमेदवारी दर्ता गरेका छन् । सो पार्टीले मेयरमा वागि उमेदवार केपी बराललाई सघाउने भएको छ ।

उता काँग्रेस बाहेक गठबन्धन गरेको चौदण्डिगढी नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट बागी उमेदवार परेको छ । काँग्रेसबाट पार्टी निकट आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष बनिसकेका चर्चित युवा प्रशान्त राईले बागी उमेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी मेयर पदमा नेकपा एसको भागमा परेको चौदण्डिमा वडाध्यक्ष कमलध्वज राईले बागी उमेदवारी दर्ता गराएका छन् । उहाँ २०७४ का वडा नं ६ को वडाध्यक्ष हुन् । गठबन्धनबाट यो नगरपालिकामा नेकपा एसको भागमा परेको छ ।

त्यसैगरी ताप्लि गाउँपालिकामा गठबन्धन भित्र जनता समाजवादी पार्टी बाहेका दलहरुले चुनावी तालमेल गरेका छन् । अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसको भागमा परेको ताप्लिमा गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

सदरमुकामको त्रियुगा नगरपालिकामा गठबन्धन भित्र नेपाली कांग्रेस बाहेका दलले चुनावी तालमेल गरेका छन् । मेयरमा नेकपा एस र उपमेयरमा माओवादी केन्द्रको भागमा परेको त्रियुगामा माओवादी केन्द्रकी त्रियुगा नेतृ सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिनु भएको छ ।

यसैगरी एमाले विरुद्ध बनेको पाँच दलिय गठबन्धनमा पनि बागी उमेदवार परेको छ । माओवादी केन्द्रलाई अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष भाग परेको रौतामाईमा उपाध्यक्षमा कांग्रेसबाट कौशल राईले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उदयपुरगढीमा वडा तहमा गठबन्धनबाट बागी उमेदवार परेको छ । यस्तै लिम्चुङबुङ गाउँपालिकामा एमालेविरुद्ध बनेको गठबन्धन भित्र पनि बागी उमेदवार उस्तै परेको छ । माओवादी केन्द्रले अध्यक्ष पाएकोमा सोही पार्टीबाट स्थानीय नेता होम किराँतीले अध्यक्षमै बागी उम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ४१ बजे