काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता नभेटेको बताउनुभएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले अधिकारीको २३ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’ उहाँले भन्नुभयो ,‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’
पार्टी स्थापना हुनु भन्दा अघि नै मजदुरको हक अधिकारकालागि लडेको र भारतबाट ब्रिटिश भगाउ आन्दोलनमा लागेको ओलीले बताउनुभयो ।
‘नेपालका कम्युनिष्ट मध्ये मनमोहन अधिकारी जेष्ठ कम्युनिष्ट हुन् । मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता मैले भेटेको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टी स्थापना हुनु भन्दा अगाडि नै कम्युनिष्ट हुनुहुन्थ्यो ।’
अधिकारी महान उदेश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ । ‘उहाँले जीवनमा कहिले हतारो गर्नुभएन । आरामले काम गर्ने शैली थियो,’उनले भने,‘अलिअलि हतारो नगर्ने उहाँको शैली म मा पनि छ ।’
प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार ११ : १९ बजे
प्रतिक्रिया