एमालेले टुंग्यायो कर्णालीका उम्मेदवार

कर्णाली।    नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुङ्गो लगाएको छ ।

प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो ।   

एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुगुका आठ, कालीकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका पाँच तहका प्रमुख–उपप्रमुख टुङ्गो लगाएको हो । हुम्लाका सात स्थानीय तहका प्रमुख पदमात्र टुङ्ग्याएको छ । 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख हुनुहुन्छ । 

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताउनुभयो । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतबार राति नै ती पालिकाको टुङ्गो लगाएको छ । 

आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुङ्ग्याएको छ ।  

डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख–उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा नौ, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा छ, जाजरकोटमा सात, कालीकोटमा नौ, जुम्लामा आठ, मुगुमा चार, हुम्लामा सात र डोल्पामा सात स्थानीय तह छन् । 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २८ बजे