तनहुँमा मिलेन भागबण्डा,एक्लाएक्लै उम्मेदवारी दिँदै गठबन्धन

तनहुँ । तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन । भागबन्डमा सबै दलको आ आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ ।

सोमबार बिहान बसेको गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेद्वारी दर्ता गराउँछौँ’, उनले भने । 

गठबन्धनमा सहमति भइनसके पनि च्याप्टर क्लोज भने नभएको उनको भनाइ छ । उनले सहमतिका लागि अझै समय रहेको बताए । ‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुनेछ’, उनले भने । 

मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेद्वार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेद्वार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् । 

आइतबार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कमले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिँदैन । नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : २४ बजे