‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेकपा एमालेको घोषणापत्रको कार्यदिशा

स्थानीय निर्वाचनको तापक्रम बढ्दो क्रममा छ । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विगतमा निर्वाचित स्थानीय सरकारहरूले अति आवश्यक भौतिक पूर्वाधारको काम सम्पन्न गरेका छन् । अब नेकपा एमालेको ध्यान आर्थिक विकासको एजेन्डालाई प्रमुख रूपमा अघि बढाउँदै आत्मनिर्भर अर्थतन्त्र विकास गरी सामाजिक न्याय सहितको विकास मार्फत जनतालाई सेवा सुविधा प्रदान गर्ने विषयमा ध्यान केन्द्रित भएको छ । 

नेपालमा बारम्बार भएका राजनैतिक परिवर्तनपछि पनि नेपाली जनताको जीवन स्तरमा खासै परिवर्तन हुने खालका योजनाहरू नआएका कारण अब उनीहरू निराश हुँदै गरेको देखिन्छ । यसको मूल कारण त नेपालमा राजनैतिक स्थिरता र राजनैतिक दलहरूले आफ्नो ठोस कार्य योजनाका आधारमा स्थिरताका साथ शासन गर्न नपाउने वातावरण नै हो भने अर्कातर्फ नेपालमा लामो समय सरकारको नेतृत्व गर्दा पनि समाज रूपान्तरण र भौतिक पूर्वाधारको विकासमा ठोस सोच तथा कार्यक्रम ल्याउन नसेकेको नेपाली काँग्रेस नै यसको मूल दोषी रहेको छ । 

जब जब नेपालमा नेकपा एमालेले सरकार सञ्चालन गरेको छ, त्यस समयमा  जनतामा आशा र आत्मविश्वास निर्माण गर्न सकेको छ । चाहे त्यो मनमोहन अधिकारी को ९ महिने सरकार होस् वा के पी शर्मा ओलीको ९ महिने र ३ वर्षे सरकारहरू हुन् । यस समयमा नेपाली जनतामा अब नेपालमा केही सामाजिक रूपान्तरण र आर्थिक समृद्धिका कार्यहरू अगाडी बढ्छन् भन्ने आशा पलाएको पाइन्छ । तर, ती समयमै पार्टीभित्रका अपराधी तत्त्वहरूले पार्टीमा विभाजन ल्याउने र सरकार गिराउने र एमालेको राजनैतिक वातावरण धमिल्याउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै नेपाली जनताको आशामा तुसारापात गरेका इतिहास पनि ताजै छ ।

यति बेला नेपाली जनताले नेकपा एमाले सरकार बाहिर बस्दा पनि नेकपा एमालेले सरकारमा रहँदाका समयमा गरेका कामहरूको  मूल्याङ्कन गर्दै पुनः एक पटक साथ दिने लक्षण देखाइरहेका छन् भने अन्य विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू समेत यस पार्टीका अध्यक्ष तथा नेता केपी ओलीको दृढता, विकासप्रतिको दृष्टिकोण र कार्यक्रमबाट प्रभावित भई ठुलो सङ्ख्यामा पार्टी प्रवेश गर्दै नेकपा एमालेको विकास अभियानमा सरिक हुने प्रतिबद्धता प्रदर्शित गरिरहेका छन् । जनता र अन्य पार्टीको यस विश्वासलाई आगामी दिनमा ठिक किसिमबाट अगाडी बढाउँदै जनताको अपेक्षा पूरा गर्ने कार्यमा दृढताका साथमा लाग्नु पर्ने कठिन अग्नि परीक्षा नेकपा एमाले सामु उभिएको छ । 

यही चुनौतीपूर्ण अवस्थामा पार्टी उभिएका कारण नेकपा एमालेको केन्द्रीय घोषणापत्र पनि सोही आधारमा तयार गरिएको देखिन्छ । नीतिगत रूपमा आएको यस घोषणापत्रलाई सबै स्थानीय कमिटीहरूले आफ्नो स्थान विशेष र जनताको भावनाका आधारमा विकासका कार्य योजनाहरूलाई स्थानीय घोषणापत्रका रूपमा तयार गर्दै निर्वाचनपश्चात् यी योजना तथा प्रतिबद्धताहरूलाई कार्यान्वयन गरी स्थानीय समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । प्रकाशित केन्द्रीय घोषणापत्रमा विषयवस्तुका आधारमा निम्न लिखित विषयहरू प्राथमिकतामा रहेको देखिन्छ । 

१.कार्य पालिकालाई जनताको सहज र सरल सेवा प्रवाह केन्द्रका रूपमा विकास गर्दै जनप्रतिनिधिहरू जनताको सेवकको रूपमा रूपान्तरित हुँदै सुशासनमा नमुनाको रूपमा विकास हुनेछन् ।

२.जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्ने छैनन् र कडाइकासाथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् र भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्यवाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्नेछन् । 

३.राष्ट्रको विकासको पहिलो साधन भनेको दक्ष र योग्य जनशक्ति हो । जबसम्म देशमा  विकासका हरेक क्षेत्रमा दक्ष र योग्य जनशक्ति हुँदैन तबसम्म देशले आफ्नो देशको स्वार्थ र आवश्यकता अनुसारको कार्य सम्पादन गर्न सक्दैन । तसर्थ स्थानीय तहहरू स्थानीय शिक्षाको अभिभावक समेत भएका कारण शिक्षाको गुणस्तर विकास गर्दै आफ्नो स्थानको आवश्यकता पूरा गर्ने गरी प्राविधिक शिक्षाको विकासमा विशेष जोड दिने विषयवस्तु उठाएको छ । 

४. आफ्नो स्थानमा भएका साधन-स्रोत र भौतिक अवस्थाको ख्याल गर्दै उत्पादनमा विशेष ध्यान दिने, उत्पादित वस्तुको औद्योगीकरण र व्यावसायिकीकरण गर्ने कार्यमा जबसम्म स्थानीय तह लाग्दैनन्, तबसम्म हामीले सामाजिक न्याय सहितको आर्थिक विकास तथा लोक कल्याणकारी समाजको स्थापना गर्न सक्दैनौँ । तसर्थ, राष्ट्रिय अर्थतन्त्रको विकास, कृषि उपजमा रहेको परनिर्भरताको अन्त्य गर्ने गरी कृषिको आयात प्रतिस्थापनको विश्लेषण गरी उक्त आयात प्रतिस्थापन गर्ने गरी कृषि उत्पादनमा असाध्यै महत्त्वका साथ कृषि उत्पादन, सङ्कलन, भण्डारण, बजारीकरण र सम्भव भएसम्म उक्त स्थानमै औद्योगीकरण र व्यवसायीकरणका लागि तहहरूले कृषि उत्पादनको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । यसो हुन सकेमा कृषिको औद्योगीकरण र व्यवसायीकरणबाट स्वरोजगार, रोजगार र अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान हुँदै नेपालको व्यापार घाटा तथा आयात प्रतिस्थापनमा समेत योगदान पुग्नेछ । यस बारेमा केन्द्रीय घोषणापत्रमा राम्रो चर्चा गरिएको छ ।

५.त्यसै गरी बहुआयामिक पर्यटन व्यवसायका सम्भावना, त्यसको विकास र विस्तारका लागि पर्यटन विकासको सम्भावना रहेका पालिकाहरूले पर्यटन विकासको समग्र गुरुयोजना बनाउने र त्यसको विकासका लागि महत्त्वका साथ कार्य योजना बनाउँदै सम्पूर्ण सरोकारवाला क्षेत्रका बीचमा व्यापक छलफल तथा बहस चलाउँदै यसको विकासका लागि महत्त्वका साथ लाग्ने उल्लेख गरिएको छ । यदि हामीले पर्यटन व्यवसायलाई राम्रोसँग सञ्चालन गर्न सक्यौँ भने यसले विदेशी मुद्रा आर्जन गर्ने, स्थानीय उत्पादनको खपत हुने, व्यापार व्यवसाय चलायमान हुनेछ र यसबाट अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्नेछ । यस्ता क्रियाकलापले रोजगार तथा स्वरोजगारी विकासमा समेत वृद्धि हुनेछ । 

६. देशमा भएका अपार प्राकृतिक सम्पदाहरू पहिचान गर्ने र त्यसलाई उत्पादनका क्षेत्रमा विकास गर्ने कार्यमा आवश्यक मात्रामा ध्यान दिन सेकेका छौँ । केही चुनढुङ्गा, केही नदी जन्य पदार्थ, केही विद्युत् विकास र केही जडीबुटीहरूको न्यून मूल्यमा बेच्ने, केही वन पैदावार उपयोग गर्ने काम त गरेका छौँ । हामीसँग भएका खनिज सम्पदाहरूको अध्ययन गर्ने र त्यसको उत्खनन गर्दै व्यवसायीकरण गर्ने काममा हाम्रो प्राथमिकता र सामर्थ्य पुगेको छैन । तसर्थ, हामीसँग भएका प्राकृतिक सम्पदाहरूको अध्ययन गर्ने, त्यसलाई उद्योग व्यवसायको रूपमा विकास गर्दै खनिज सम्पदामा आत्मनिर्भर बन्दै निर्यातबाट अर्थतन्त्र बलियो बनाउने कार्यमा समेत स्थानीय तहको ध्यान जान आवश्यक देखिन्छ । 

७. राष्ट्रिय पुँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासविना न लोककल्याणकारी समाजको विकास गर्न सक्छौँ, न त सामाजिक न्यायसहितको समानुपातिक विकास नै गर्न सक्दछौँ, त्यसैले देशमा बलियो अर्थतन्त्रको विकास गर्दै समाजका हरेका क्षेत्रका जनतालाई विकास र विकासको प्रतिफलमा सहभागी गराउने गरी नेकपा एमालेको सरकारले सुरु गरेका लोककल्याणकारी कार्यक्रमहरू वृद्ध, अपाङ्गता भएका तथा असहाय तथा अशक्त भत्ता लगायतका सेवा सुविधाहरू विकास गर्दै राज्य जनताको अभिभावक हो भन्ने अनुभूति दिने गरी कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । अझ स्थानीय तह भनेको जनताको घरदैलोको सरकार भएका कारण पनि यी सरकारहरू जनताका हरेक दुःख सुखमा साथ रहनु आवश्यक छ । त्यसैले, नेकपा एमालेको केन्द्रीय घोषणापत्रमा समाजका विभिन्न क्षेत्रमा पछि परेको जनसमुदाय र क्षेत्रलाई राज्यबाट विशेष अवसर र सहयोग गरिने व्यवस्थाको उल्लेख छ । 

घोषणापत्रमा महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, अपाङ्गमैत्री पालिका, बालबालिकाको विकास, सामाजिक न्याय सहितको आर्थिक विकास, भूमिहीन तथा अव्यवस्थितहरूको बसोबासको व्यवस्था, घरबार विहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था, दलित समुदायका गरिबहरूलाई आवास कार्यक्रम, फुसका छाना भएका घरको छाना विस्थापन र पछि परेको क्षेत्रमा बजेटको प्राथमिकता लगायतका विषय रहेकोले यस बारेमा पालिकाहरू सचेत हुँदै विकासका योजनाहरू कार्यान्वयन गर्नु पर्नेछ ।

स्थानीय तह विकास र समृद्धिको आधार भूमि हो । यो क्षेत्र नेपालको आर्थिक विकासका लागि ठुलो क्षेत्र हो । विगतमा पालिकाहरूले गरेका कार्यहरू ज्यादै महत्त्वपूर्ण छन् । हरेक पालिकाले एउटा मात्र विकासको योजना सम्पन्न गर्दा पनि देशमा सयौँ योजना सफल हुन्छन् । तसर्थ, हरेक पालिकाले अनेकौँ उत्पादनका कार्यक्रमहरू सफलताका साथ सम्पन्न गर्दा देशमा लाखौँ कार्यक्रमहरू सम्पन्न भई नेपालको आर्थिक विकासमा ठुलो योगदान पुग्नेछ । 

नेकपा एमालेले अघि सारेको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा स्थानीय तहको अहम भूमिका रहने भएकोले यस अभियानलाई सफलताका साथमा सम्पन्न गर्नका लागि हाम्रा सामु आएको स्थानीय निर्वाचनमा नेकपा एमालेको  ध्वजावाहकहरूलाई जिताउने अभियानमा लाग्न आवश्यक छ । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५६ बजे