राष्ट्रपति भवनमा घटस्थापना

ललितपुरमा समाजवादीको प्रतिनिधित्व नै शून्य हुने गरी काँग्रेस–माओवादी अघि बढेपछि एक्लै चुनाव लड्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले जिल्लामै प्रतिनिधित्व शून्य हुने गरी गठबन्धनका दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।

पार्टीको सह इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १०ः०० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताउनुभयो । बेलुकी ५ः०० बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिनुभयो।

“हाम्रो प्रतिनिधित्व नै शून्य हुने गरी काँग्रेस–माओवादी अघि बढे”, उहाँले भन्नुभयो, “हामी पनि एक्लै निर्वाचनमा जाने तयारीमा छौँ । सबै स्थानीय तहको सबै पदमा हाम्रो उम्मेदवारी रहन्छ ।”

ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ । तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताउनुभयो। 

काँग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुने गरी समझदारी गर्नुभएको थियो।  त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ११ बजे