भक्तपुरका तीन नगरपालिकामा गठबन्धन बीच सहमति

​​​​​​​काठमाडौं – भक्तपुरका तीन नगरपालिकामा सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले भक्तपुरको ३ वटा मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकामा सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको हो । तर चाँगु नगरपालिकामा गठबन्धनका दलहरुबीच हालसम्म कुनै  सहमती हुन सकेको छैन ।

गठबन्धन बीच भएको सहमति अनुसार  मध्यपुर थिमि नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ भने सूर्यविनायक नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाएको छ । त्यस्तै भक्तपुर नगरपालिकाको प्रमुख पद नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)ले पाएको छ ।

सत्ता गठबन्धनको  बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, एकीकृत समाजवादी बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश इन्चार्ज केदार प्रसाद न्यौपानेले सहमतिपत्रमा  हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ५९ बजे