कार्यकर्ताले पार्टी कार्यालयमा थुनिदिए पोखरा कांग्रेसका नेता

पोखरा । चुनावी तालमेलको विपक्षमा रहेका पोखरा महानगरपालिका भित्रका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमै थुनिदिएका छन् ।

जिल्ला समितिका पदाधिकारी बैठक चलिरहेका बेला उनीहरुले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग राखदै तालाबन्दी गरेका हुन् ।  गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइएको छ । तर, कार्यकर्तालाई सो निर्णय चित्त बुझेको छैन । त्यसकै विरोधस्वरूप आइतबार कार्यकर्ताले जिल्ला सभापतिसहितका पदाधिकारीलाई थुनेका हुन् ।

कार्यकर्ताले आफुहरुलाई थुनिदिएको कांग्रेसका जिल्ला सचिव भानु ढकालले स्विकार गरेका छन् । ढकालका अनुसार असन्तुष्ट कार्यकर्ताले वार्तास्थल स्नोल्यान्ड होटेलबाट उठाएर उनीहरूलाई पार्टी कार्यालयमा थुनेका हुन् ।

‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन,’ उहाँले भन्नुभयो । 

आजै कांग्रेस क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिइसक्नुभएको छ । कार्कीको उम्मेदवारीसँगै गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ३८ बजे