भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद बने बागी

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

​​​​​​​

पौडेलको घोषणासँगै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई सकस पर्ने निश्चित भएको छ।

भरतपुर महानगरपालिका–७ का पौडेल भरतपुरको पूर्व उपमेयरसमेत हुन्। बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन्।

उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याललगायतको बलियो साथ रहेको छ। कांग्रेसको माथिको निर्देशनविपरित उक्त उम्मेदवारी घोषणा भएको हो।उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : २७ बजे