सुनवल नगरपालिकाका दुई सय गर्भवती महिलालाई दिइयो गर्भ संस्कार शिक्षा

नवलपरासी । जिल्लाको सुनवल नगरपालिकाले नगरभित्रका दुई सय जना गर्भवती महिलालाई गर्भ संस्कार शिक्षा दिइएको छ । गर्भमा रहेका शिशुलाई गर्भ भित्रैबाट सुसंस्कारित बनाउने उदेश्यले गर्भ संस्कार शिक्षा दिइएको हो ।

पिस क्लब इन्टरनेसनल नवलपरासीले नगरपालिकाको सहयोगमा सो शिक्षाको अवधारणा बनाएका प्रशिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी मुलुक तथा भारतका केही प्रदेशहरूमा यस्तो शिक्षा दिइने कार्य गरिएको भए पनि नेपालमा सम्भवतः पहिलो पटक यस्तो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले यो गर्भ संस्कार शिक्षा सम्बन्धी अवधारणा राम्रो देखिएकोले पाइलट प्रोग्राम अन्तरगत यो कार्यक्रम राखिएको बताउनुभयो । ‘तर, कार्यक्रम सञ्चालनपश्चात् यसको प्रभावकारिता राम्रो देखिएको छ,अगामी दिनमा प्रत्येक वडामा यस कार्यक्रमलाई निरन्तरता दिइने छ । आवश्यकता देखिँदै गएमा गर्भशिक्षा नियमित गराउनका लागि छुट्टै विद्यालयको समेत स्थापना गरिने छ’,उहाँले भन्नुभयो ।

‘पूर्वीय दर्शनमा यस्तो गर्भ संस्कारको पद्धति भए पनि अहिलेको आधुनिकताले यस्तो संस्कार हराएको छ’, उहाँले थप्नुभयो । ‘महाभारत कालमा गर्भमै चक्रव्यूह तोड्ने युद्धकला अर्जुनले आपनी पत्नी सभद्रालाई सुनाउदा उनको गर्भमा रहेको अभिमन्यूले सो युद्धकला गर्भमै सिकेको घटना स्मरण गराए । बुद्धकालमा कोलिय पुत्री सुप्पबासाले समेत गर्भवती हुँदा बुद्धले उनलाई सुसंस्कारका शिक्षा दिएका कारण उनले सिबली भिच्छुको जन्म दिएको घटनाहरू उल्लेख भएको पाइन्छ । गर्भमै रहेका शिशुलाई आमाबाबुले के कस्तो बनाउने त्यसबारे सूचना शिक्षा गर्भावस्थामै दिदा शिशु जन्मेपछि संस्कारित भएर जन्मने कुरालाई ती कार्यक्रममा समेटिएको छ’,उहाँले भन्नुभयो । कुनै पनि व्यतिको मस्तिष्कको विकास गर्भावस्थामा ८० प्रतिशत, २ वर्षको उमेर हुँदा १५ प्रतिशत र बाँकी ५ प्रतिशत पूरै जीवनमा विकास हुने वैज्ञानिक तथ्यलाई आधार बनाई असल र संस्कारित शिशुको जन्माउनका लागि गर्भावस्थाको ९ महिना नै महत्वपूर्ण समय भएको हुँदा गर्भ संस्कार शिक्षा आवश्यक रहेको प्रशिक्षक पाण्डेले बताउनुभयो । 

‘सरकारले अहिले ल्याएको सुनौलो हजार दिनका कार्यक्रम शिशुको भौतिक विकासलाई लक्षित गरिएर गरिएको भए पनि शिशुको मानसिक तथा अध्यात्मिक विकासका लागि गर्भ संस्कार शिक्षा आवश्यक देखिएको छ’, उहाँले भन्नुभयो । ‘यसमा प्रमुख कार्य गर्भवती महिलाले गर्भका शिशुसँग कुरा गर्ने, ध्यान गर्ने, मंगलमैत्रीको अभ्यास गर्ने सिकाइँदै आएको छ  । गर्भको शिशुसँग कसरी कुरा गर्ने ? ध्यान अभ्यासको विधिमा मनले श्वास हेर्ने आनापानको अभ्यास र शिशुलाई आमाबाबु, र परिवार छिमेकी टोल आदिबाट पनि मैत्री दिने कार्यको अभ्यास गराइँदै आएको छ ‘,स्वयंसेविका सरस्वती सुवेदीले बताउनुभयो । ‘पहिला यस्तो गर्भ संस्कारको शिक्षा पनि होला भनेर लागेको थिएन, तर अहिले कार्यक्रममा प्रत्यक्ष सुन्न, पढ्न र अभ्यास गर्न पनि पाइयो‘,उहाँले थप्नुभयो । ‘अब त यो गर्भवती हुने सबै महिलालाई यस्तो शिक्षा दिनु पर्ने आवश्यकता देखिएको छ, गर्भवतीसँगै, सासुआमा र श्रीमानलाई पनि यसबारे जानकारी गराउन आवश्यक छ । नियमित गर्भ जाँच, खानपानले शिशुको शारीरिक विकासमा कार्य गर्ने भए पनि मानसिक विकासका लागि गर्भ संस्कार शिक्षा धेरै प्रभावकारी देखिएको उहाँँको भनाइ थियो । 
 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ०९ बजे