‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भर्टिकल व्यवहार फेरौँ, समतलीय अभ्यासमा अघि बढौँ !

आजको असल कामले भोलिको इतिहास बनेझैँ आजको समतलीय व्यवहारले भोलि हामीले चाहेको समाजवाद आउँछ । नेपालको संविधान २०७२ ले समतलीय मान्यता आत्मसात गरेको छ । पहिले केन्द्र, अञ्चल, ‘स्थानीय निकाय’ रहेको थियो भने अहिले सङ्घ, प्रदेश र ‘स्थानीय तह’ भएको छ । प्रदेश होस् वा स्थानीय तह, कुनै तहको मातहत नहुने प्रावधान छ । समतलीय संस्कृति भनेको पृष्ठभूमिकालदेखि नै सहअस्तित्व, समानता, स्वतन्त्रता र भातृत्वको अभ्यास र त्यसले निर्माण गरेको नव लोकतान्त्रिक संस्कृति हो । समाजवाद ल्याउन हाम्रा वर व्यवहार समानता र स्वतन्त्रताका आधारमा बनेको हुनुपर्छ । 

स्थानीय सरकार समाजवादका कोपिला हुन् । ७ सय ५३ गाउँपालिका र करिब ६७ सय वडाहरूमा हामीले समाजवादी व्यवहारको अभ्यास गर्न सक्यौँ भने समाजवाद आउँछ । हाम्रो समाजवाद उत्पादनका साधन खोसेर साधन विहीन सर्वहारा बनाएर ल्याउने परम्परागत समाजवाद हैन, सबै वर्ग र समुदायलाई साधन सम्पन्न र सशक्त बनाएर ल्याउने समाजवाद हो । अन्तस्करणको प्रेरणाबाटै स्वतःस्फूर्त रूपमा सबै जनता धनी बन्ने —बनाउने समाजवाद हो । यो समाजवाद निरपेक्ष भने हुँदैन । शीघ्र सोच्ने व्यवस्थापनमा सिपालु अनि स्रोत साधन परिचालन गर्न सक्ने हिम्मत भएको परिश्रमी मानिस धेरै धनी हुन सक्छ । जसले जति धेरै कमाउन सक्छ त्यस सम्पत्तिको भोगाधिकार त्यो नै हो । यो प्राकृतिक न्याय हो तर त्यसलाई समतलीय बनाउन उसबाट राज्यले आम्दानी कर लिन्छ र त्यो करबाट शारीरिक मानसिक रूपमा अशक्तहरूलाई टेवा र सेवा पुर्‍याएर सम्मानित जीवन बनाउन सहयोग गर्छ । 

हामी अहिले पुँजीवादी जनवादी समाजमा छौँ । अब हाम्रो कार्यभार राष्ट्रिय पुँजी बढाउनु हो । राष्ट्रिय पुँजी बढाउँदै जाने क्रममा रोजगारका अवसरहरू सिर्जना हुँदै जान्छन् र हाम्रो समाज पनि बिस्तारै समतलीय बन्दै जान्छ । यो विषयमा हामी स्पष्ट बोल्न सक्नु पर्छ । परम्परागत शास्त्रीय पद्धतिहरू दिमागबाट डिलिट गर्नु आवश्यक छ । ती सबै सिक्ने सिकाउने विषय मात्र हुन् । जसले हामीलाई गल्तीबाट सिकेर अग्रगामी बनाउन सन्देश दिएको छ । त्यसैले समाजलाई समतलीयकरण गर्नु आजको कर्तव्य हो ।

समतलीयकरणको दार्शनिक आधार 
समतलीय भनेको सहअस्तित्व, समानता, स्वतन्त्रता र भातृत्वको व्यवहार हो । यो माथि तलको चिन्तन हैन, समतलीय चिन्तन हो । यसले माथि तल हैन, केन्द्र किनारको अपेक्षा राख्छ । केन्द्र किनारा यसको सैद्धान्तिक आधार हो । मानिस मानिसले टेकेको धरातल, विश्व ब्रह्माण्ड, विभिन्न सौर्य मण्डलका ग्रहहरू माथि—तल छैनन्, नाङ्लो जस्तो फ्ल्याट अवस्थामा छन् । सौर्य मण्डलको बीचमा सूर्य छन्, त्यसको वरिपरि बुध, शुक्र, पृथ्वी, मंंगल, वृहस्पति, शनि, अरुण, बरुण, यम, स्प्रिङ्ग अर्थात् बर्तुलाकार छन् । विश्व ब्रह्माण्डमा हुने असङ्ख्य सौर्य मण्डलहरू त्यस्तै बर्तुलाकारमा छन् । तलमाथि छैनन् । भौतिक पिण्डको सबैभन्दा सानो इकाई इलोक्ट्रन, प्रोटन, न्यूट्रनजस्ता आधारभूत तत्त्वहरू पनि तलमाथि छैनन् । समतलीय नै छन् । 

मार्क्सवाद स्वयंमा समाजलाई समतलीयकरण गर्ने गराउने दर्शन हो र सिद्धान्त हो । त्यसैले हामीले हाम्रा बर व्यवहारहरू माथि—तल हैन, समतलीय बनाउनु पर्छ । समतलीयकरण (होरिजेन्टलाइज) आजको आवश्यकता हो ।

समाजका चारै आयामहरू कसरी होरिजेन्टलाइज गर्ने ? 
समतलीय समाज (होरिजेन्टल सोसाइटी) समाजवादी समाज हो । समाजका चार आयामहरू छन् । ती आयामहरूमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक आयाम मुख्य हुन् । सबैभन्दा ठुलो आर्थिक आयाम हो । हाम्रो सामन्ती उत्पादन सम्बन्ध भत्किएर उद्योग वाणिज्य उत्पादन सम्बन्ध आइसकेको अवस्थामा बदलिएको अधिरचनाले हाम्रो समाजमा आफ्नै प्रकृतिको सामाजिक र सांस्कृतिक आधेय बनाउँछ । यो क्रम सुरु भइसकेको छ । यहाँ चारै आयामहरूको विषयमा संक्षेपमा प्रकाश पारौँ । 

पहिलो आयाम आर्थिक हो : आर्थिक क्षेत्रलाई समतलीय बनाउँदा स्वतः समाजवाद आउँछ । हामीले राज्यको माध्यमबाट, निजी क्षेत्रको माध्यमबाट र सहकारिताको माध्यमबाट समतलीय समाज बनाउन चाहेका छौँ । हामी ठिक बाटोमा छौँ । हामीले यसलाई तीन खम्बे अर्थनीति भनेका छौँ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारका कुराहरू समतलीय समाज बनाउने प्रयासभित्र पर्छन् । 

तीन खम्बे नीतिहरूमध्ये निजी क्षेत्रलाई दुवै पखेटा फिँजाएर अगाडि बढ्न दिने र उनीहरूबाट आम्दानी कर लिएर आधारभूत तहका जनताको आर्थिक स्तर वृद्धि गर्दा समाज तलमाथि हैन स्वभावैले समतलीय बन्दै जान्छ । सहकारी, सरकारी र राजकीय प्रयासहरू समाजवाद बनाउने ध्येयका साथ अघि बढ्छन् । हामीहरू यही बाटोबाटै समाजवादमा जान्छौँ । हाम्रो आर्थिक विकासमा पूर्वाधारले पनि धेरैभन्दा धेरै रोजगारका अवसर खोल्छ ।

दोस्रो आयाम राजनीति हो : हाम्रो राजनीतिक प्रणाली लोकतान्त्रिक समाजवादी हो । लोकतान्त्रिक प्रणालीले समाजवादलाई समतलीय बनाउँछ । सत्ताको बागडोर निरङ्कुश राजतन्त्र वा कुलीन वर्गबाट जनताको हातमा आउँछ । जनताले जनताको लागि जनताद्वारा भन्ने लिङकन सूत्रले राजनीतिलाई, पार्टीलाई र समाजलाई पुरै बदल्छ र होरिजेन्टल बनाउँछ । राज्यका सबै अङ्गहरू यही सूत्रका आधारमा बन्छन् । कार्यपालिका न्यायपालिका व्यवस्थापिका सबै निर्माणको आधार लिङ्कन सूत्र हो । यसको प्रयोग पार्टीमा गर्न सकिएको छैन । क्याडरवेस्ड पार्टीमा क्याडरहरूलाई चुन्न, चुनिन प्रस्ताव गर्न र समर्थन गर्न दिनुले पार्टीलाई समतलीय बनाउँछ । समानताको बोध हुनु नै समतलीय हो । नेता र कार्यकर्ताहरू बीचमा तल र माथिको भावना छ । यसलार्इृ तोड्नको लागि धेरै अबेर गर्नु हुँदैन । अब फेर्नुपर्छ । 

समाजवादमा जाने हो भने व्यक्तिको हैन, विधिको सबलीकरणमा ध्यान दिनु आवश्यक छ । हाम्रा नेताहरू प्रायः ब्राह्मण समुदायबाट गएको हुनाले वहाँहरूको दिमाग तलमाथिमा आधारित छ । कैयौँ केन्द्रीय कमिटीका नेताहरू भाषणमा अहिले पनि स्थानीय कार्यकर्ताहरूलाई तलको र आफूलाई माथिको भनेर चुक्छन् । उनीहरूले सचिवालय, पोलिटब्यूरो, केन्द्रीय कमिटी, वैकल्पिक तह भन्दै अनावश्यक तह निर्माण गरेर ठुलो सानो भन्छन् ।   राजनीतिमा यस्तो संस्कार फेरिनु पर्छ । ‘जनताभन्दा म माथि हुँ’ भन्नेलाई भोट दिनु ह्ँदैन भन्ने संस्कारको विकास हुनु पर्छ । राजनीतिमा अमाननीय र माननीयका शब्दहरू आवश्यक छैनन् । समाजवादमा जानेहरू सबै माननीय छन् । नेताहरूले तलमाथिको भन्ने हैन, भन्नै परे प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय कमिटीका भनेर सम्बोधन गर्नु पर्छ । जसको हातमा चुन्ने चुनिने अधिकार छ, जो शक्तिशाली सम्प्रभु हो उसैलाई तलको र उसले चुनेर बनाएकोलाई कसरी माथिको भन्न सकिन्छ । जनप्रतिनिधिहरू त जनताका असल वारेस हुन् । उनीहरू समतलीय समाज निर्माणका वाहक हुन् । उनीहरू शासक हैनन्, सेवक हुन् । यो भावनाको विकास हुनुपर्छ । 

यसको लागि निर्वाचनमा सुधार ल्याउनु पर्छ । अहिलेको निर्वाचन पद्धतिले आधारभूत तहका जनतालाई बलियो बनाएको छ । राज्यका मूलधारमा आउन नसकेका जनतालाई मूलधारमा ल्याएर समतलीय समाज बनाएको छ । सबै वर्ग र समुदायहरू समान हैसियतको बनाएको छ । मधेसी, महिला, दलित, अल्पसङ्ख्यक जनजाति, मुस्लिम, अपाङ्गता, अल्पसङ्ख्यक यौनिक समुदायहरूलाई मूलधारमा ल्याएर समान हैसियतको निर्माण गरेको छ । सम्भ्रान्त हटिरहेको छ र जनताको जनवादी राज्यसत्ता बनिरहेको छ । त्यसैले हाम्रो संविधान समाजवाद उन्मुख संविधान हो । 

तेस्रो आयाम सामाजिक हो: हाम्रो सामाजिक बनोट वर्गीय छ । वर्गले नै हामीलाई उच्च निज तलमाथि बनाएको छ । हाम्रा जनभेलाहरू, मिटिङहरू, बैठकहरू उपभोक्ता समितिका भेला बैठकहरू, विभिन्न व्यवस्थापन समितिहरूको भेला बैठकहरू समतलीय बनाउनु पर्छ । त्यहाँ सबै वर्ग र समुदायको उपस्थिति समानताका आधारमा हुनु पर्छ । सबैको प्रतिनिधित्व र पहुँचमा समानता हुनु पर्छ । पछिल्लो पटक समावेशीकरण हाम्रो समाजमा संस्कृति बनेर आएको छ । यसले पछाडि पारिएका वर्ग र समुदायका कुरा सुन्ने तिनीहरूका समस्याहरूका एजेन्डा बनाउने छलफल गर्ने, बजेटिङ्ग गर्ने काम सुरु भएको छ । सामाजिक रीतिस्थितिहरूमा पनि विभेदहरू मत्थर हुन थालेको छ । यही सभ्यताका साथ समाज होरिजेन्टल बनिरहेको छ । होरिजेन्टल सिद्धान्त मार्क्सवाद भित्रकै समाजवादी समाज बनाउने आधारभूत सिद्धान्त हो । 

चौथो आयाम संस्कृति हो : संस्कृति संस्कारहरूको समष्टि पुञ्ज हो । सुसंस्कृत समाज बनाउने हाम्रो अभियान हो । हाम्रो परम्परागत संस्कृति सामन्तवादी आधारबाट बनेको संस्कृति हो । हाम्रो समाजमा सामन्ती अधिरचना बदलिएको छ । उत्पादनका साधनहरूको सम्बन्ध उद्योगी र व्यापारीको हातमा आएको छ । औद्योगिक वाणिज्य युगले संस्कृति निर्माण गरिसकेको छैन । सामन्तवादी संस्कृति हाम्रो मनोविज्ञानमा छ । हाम्रो आदत बानी शैली सोचहरूमा छ । हामी संस्कृतिमा तलमाथिको भावना छ । यसले विभेद ल्याएको छु । विभेद छुवाछुत शोषणजस्ता पछौटे कुराहरूले हामीहरूलाई अगाडि बढ्न दिएको छैन । यो अज्ञानताको अन्धकारमा झाङ्गिएको छ । 

नेपालमा सबै सांस्कृतिक समुदायमा भर्टिकल उँच र निचका आधारमा बनेको मूल्य मान्यता छ । हाम्रो घरदेखि समाजसम्म भर्टिकल अर्थात् तलमाथिको आधारमा बनेको समाज छ । यो दाशकालीन एवं सामन्तवादी अवशेष हो । विगतमा ज्यादा थियो । समाज लोकतान्त्रीकरणको क्रममा यो कमजोर बन्दैछ । जनता बलिया बन्दैछन् । उनका आवाजहरू बलिया बनेका छन् । जनता बलिया बनेको कुरा सामन्ती अवशेष बोकेकाहरूको लागि अराजकताजस्तो लाग्न सक्छ । त्यो अराजकता हैन, यो न्याय र समानताको आवाजहरू बलियो बनिरहेको र समाज समतलीय बनिरहेको अवस्था हो । तलमाथिमा आधारित समाज जसरी समतलीय बन्दै जान्छ, सभ्यता र संस्कृतिको विकास पनि त्यसरी नै हुँदै जान्छ । 

हामी राजतन्त्रसँग लड्यौँ । राजतन्त्रको राजशी शानमा आधारित संस्कृति विरुद्ध लड्दा त्यो राजसी शान साटो फेराइका आधारमा हामीमा सर्यो । हामी राजाजस्ता भयौँ । हाम्रो मनोविज्ञान सादगी हुन सकेन । जनताले हामीलाई राजाजस्ता भनेर आलोचना गरे । यो समस्या सबै राजनीतिक दलहरूमा छ । 

हामीले तलमाथिमा आधारित भर्टिकल व्यवहार पोर्टफोलियोबाट बनाएका हौँ । हाम्रो पोर्टफोलियो तलमाथिका आधारमा बनेको छ । त्यहाँ परम्परागत ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रको तहगत प्रभाव छ । त्यो सोचाइ र चिन्तन हटाएर समतलीय बनाउनु पर्छ । केन्द्र र किनारका आधारमा हुनुपर्छ । प्रमुख केन्द्रमा उभिनुपर्छ । अरूहरू सौर्य मण्डलझैँ अक्ष कक्षमा नाच्नुपर्छ । अति किनारा पनि राम्रो हुँदैन । 

हाम्रो मञ्च व्यवस्थापन संस्कृति सामन्ती प्रकृतिको छ । सहभागीहरूलाई अपमान हुने गरी व्यवस्थापन गरिएको छ । पोर्टफोलियोका आधारमा सग्ला सग्ला, अग्ला अग्ला व्यक्तिहरूलाई राजशी शानका साथ ड्यासमा विराजमान बनाउने र अन्य सहभागीहरूलाई मूल्यहीन बनाउने विषय भर्टिकल व्यवहार हो । यसले समानताको बोध हैन जबरजस्त सम्मान खोज्ने सामन्ती व्यवहार हो ।  यसलाई जनताले पटक्कै मन पारेका छैनन् । यो कुरामा त नेकपा एमालेका पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले धेरै ठाउँमा सुधारको अभिप्रायका साथ टिप्पणी गरिरहनु भएको छ । आशा छ, यसमा सुधार आउनेछ ।  

यो आलेख विचारको बीउ मात्र हो । यसको विचार विस्तार गर्ने हो भने पुस्तकाकारमा आउन सक्छ । अहिले हामीले यसलाई अध्ययनको सूत्रात्मक विषय बनाएका छौँ । निर्वाचनमा यो जनवादी व्यवहार देखाउन सक्यौँ भने हामीले जनताका मन र मतहरू सजिलै पाउन सक्छौँ । हाम्रा आदतहरू फेर्न सक्यौँ भने हामी फेरिन्छौँ, हाम्रो समाज फेरिन्छ ।

(लेखक लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रखर समालोचक हुनुहुन्छ ।) 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५३ बजे