नेकपा एमालेको प्रतिबद्धता– प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

काठमाडौँ / नेकपा एमालेले शुक्रवार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ । 

‘गुणवान् र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनोपयोगी बनाउने,’ घोषणापत्रमा एमालेले भनेको छ, ‘विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्‍याउने ।’ 

बिचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ । 

विपद्का कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरूका लागि विशेष व्यवस्था गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने प्रतिबद्धता एमालेले जनाएको छ । 

‘पुस्तकालय स्थापना गर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र सहज पहुँचभित्र पुर्‍याउन पर्याप्त कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सनिश्चित गर्ने पनि घोषणापत्रमा जनाइएको छ । 

‘बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्ति, विद्यालय नर्स सेवा कार्यक्रमलाई निरन्तरता दिई विस्तार गर्ने, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,’ घोषणापत्रमा लेखिएको छ । 

प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

‘माध्यमिक शिक्षालाई क्रमश  निःशुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने,’ घोषणापत्रमा उल्लेख छ । 

सबैभन्दा योग्यलाई शिक्षण पेसामा आकर्षित गर्न आवश्यक नीति र योजना तर्जुमा गर्ने पनि एमालेले जनाएको छ । 

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३४ बजे