गोरखा। गण्डकी प्रदेश सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएको छ ।
मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसङ्गठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रूपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिनुभएको हो ।
“अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र काँग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन, उहाँहरूले साइड लगाउनुभयो भने उहाँहरूलाई हैसियत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र काँग्रेस बाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरूको सेखी झार्न त हामी सक्छौँ नि” मन्त्री आचार्यले भन्नुभयो ।
अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उहाँले प्रष्टाउनुभयो ।
“अहिले हामी सरकारै ढाल्न सक्ने सम्म त सोचेका छैनौँ । तर, उहाँहरूले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नु पर्यो नि । त्यो गर्नै पर्यो । औपचारिक रूपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरूले शङ्का गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णायक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न”, मन्त्री आचार्यले भन्नुभयो ।
प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ११ : १० बजे
प्रतिक्रिया