एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, अध्यक्ष ओलीले औपचारिक उद्घाटन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीले आज १ः०० बजे औपचारिक रूपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले  जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचन सम्बन्धी प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नेछ । 

गत २०७२ को महाभूकम्पपछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्षअघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घाटन हुने भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १० : ०८ बजे