राष्ट्रपति भवनमा घटस्थापना

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । 

सोही दिनको सम्झनामा नेपालका कम्युनिष्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ः०० बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापाथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्ययतामा हुने कार्यक्रममा कम्युनिष्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिबद्धता पत्र  सार्वजनिकको कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।

त्यस्तै, स्थापना दिवसका अवसरमा नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  शुभकामना दिनुभएको छ । “आजको दिन देशभित्रका कम्युनिष्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो”अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्छ । उहाँहरूले भारतको कलकत्तामा पार्टी स्थापना गर्नुभएको थियो । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो । त्यसपछि भने कम्युनिष्ट पार्टीहरूले पटक पटक सत्तारोहरण गरिसकेका छन् ।

अधिकारीबाहेक कम्युनिष्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिष्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा.बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसक्नुभएको छ  । तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । मनमोहन अधिकारीले  अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमलाई नेकपा एमालेले प्राथमिकताका साथ अघि बढाउदै आइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०२ बजे