राष्ट्रपति भवनमा घटस्थापना

डब्लुएचओ महानिर्देशक डा.टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट 

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नुभएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहिबार काठमाडौँ आइपुग्नुभएका डब्लुएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिहिबारसाँझ भेटघाट गर्नुभएको हो। 

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लुएचओको महत्त्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणको लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त गर्नुभयो।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। “विशेष गरी कोभिड –१९ महामारीको समयमा तपाईँको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछ”,  उहाँले भन्नुभयो, “तपाईँको यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ।”

डब्लुएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड-१९ नियन्त्रण तथा यस विरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।“नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशत पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने बाटोमा छ” उहाँले भन्नुभयो, “यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनुभएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहन्छु।”

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिड विरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेष गरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकहरूमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गर्नुभयो। 

उहाँले अन्तर व्यवस्थापिका सङ्घको १४४औँ सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लुएचओले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। 

उहाँले नेपाली जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्ल्यूएचओ कन्ट्री अफिस, डब्ल्यूएचओ एसइआरओ र सम्पूर्ण डब्ल्यूएचओ प्रणालीको प्रशंसा गर्नुभयो।

“नेपाललाई औषधिको गुणस्तर नियन्त्रण र पहुँचलगायतका क्षेत्र, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संसाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान निदानका क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनबाट सहयोग र समर्थन आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन नेपाल सरकार लागिपरेको बताउनुभयो।

नेपालस्थित डब्लुएचओको कार्यालयले विभिन्न महत्त्वपूर्ण काम गरेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो आग्रहमा कोभिड–१९को जोखिम बारेको प्रभावकारी सूचना प्रवाहमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। 

“नेपालका सात प्रदेशमा भएको उक्त कार्यक्रमले सबै तहमा निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा ल्याउने काम गर्‍यो”, उहाँले भन्नुभयो, “कोभिड–१९ महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहन्छ भन्ने उदाहरण सो कार्यक्रम प्रस्तुत गरेको छ। सो कार्यक्रमको नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गर्दछु र प्राविधिक सहयोगका लागि डब्लुएचओलाई धन्यवाद व्यक्त गर्दछु।”

उहाँले नेपाल सरकार, सङ्घीय संसद् र डब्लुएचओ बीचको सहकार्य जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय रहने  र सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो।

त्यसैगरी अध्यक्ष तिमिल्सिनले महानिर्देशक डा=टेड्रोसलाई दोस्रो कार्यकालको लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटका क्रममा डब्लुएचओका महानिर्देशक डा=टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताको रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताउनुभयो। 

“तपाईँ बोलेर मात्रै होइन स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुनुभएको छ” उहाँले भन्नुभयो, “डब्लुएचओसँगको सहकार्यमा यहाँले नेतृत्व गरेर भएका कार्यक्रमहरूले कोभिडको समयमा सबै राजनीतिक पार्टी तथा जनप्रतिनिधिहरूलाई एकजुट हुन र यसको नियन्त्रणमा साझा रूपमा लाग्न प्रेरित गरेको छ।”

कानुन निर्माणमा स्वास्थ्य क्षेत्र खासै प्राथमिकतामा पर्न नसकेको बताउँदै डा.टेड्रोसले नेपालको संसद्ले कानुन निर्माणमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले आईपीयूको १४४औँ सम्मेलनमा कोभिड खोप लगायतका विषयमा अध्यक्ष तिमिल्सिनाले राख्नुभएको धारणाका लागि धन्यवाद दिन समर्थन गर्नुभयो।

“स्वास्थ्यका विषयमा नेपालको सरकार र संसद्को समान धारणा रहेको पाएँ यसको प्रशंसा गर्दछु” उहाँले भन्नुभयो, “नेपालले मेरो प्रतिनिधिमण्डललाई गरेको न्यानो आतिथ्यताको प्रशंसा गर्दछु।”

त्यसैगरी भेटमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै विशेष गरी खोप, शिशु तथा मातृ मृत्युदरमा हासिल गरेको उपलब्धि उदाहरणीय रहेको र त्यसबाट अन्य मुलुकले सिक्न सक्ने बताउनुभयो।

भेटमा सङ्घीय संसद्का तर्फबाट महासचिव डा=भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल लगायत समेत सहभागी हुनुहुन्थ्यो।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : १४ बजे