मेलम्ची बाढी पीडितको गुनासो – ‘बन्द गर पुरा नगर्ने बाचा’

सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब २२ दिन बाँकी छ । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनको टिकटका लागि नेताहरूको दौडधुप सुरु भैसकेको छ । तर,बाढीले थङथिलो भएको ,हेलम्बु,मेलम्ची क्षेत्रका बासीको मनमा लागेको चोट र भग्नावशेषमा परिणत भएको बस्ती अनि बगर बदल्ने तदारुकता कसैले देखाउन सकेका छैनन्  ।
आश्वासनै आश्वासनले थिच्चिएका वाढी पीडितहरु निर्वाचनका बेला नेताहरुले दिने आश्वासनबाट यत्तिखेर गिज्जिरहेका छन् । 
निर्वाचनमा उथलपुथल पारिदिने आवश्वासनका चुनावी गफहरु सुन्न बाध्य यहाँका बासीहरुको एउटै प्रश्न छ – गफ कति दिन्छौ, अघिल्लो सरकारले आवास निर्माणका लागि दिने भनेको ५ लाख रुपैयाँ हामीले कहिले सम्म पाउँछौ ?
बाढी गएको १० महिना बित्दा समेत सरकारले घोषणा गरेको राहत रकम पाउन नसके पछि उनीहरु मेलम्चीलाई पुरानै अवस्थामा फर्काउने नेताहरूको भाषण सुन्न नपरे नी हुने गुनासो गर्छन । 

के.पी ओली सरकारले बाढी आउने बित्तिकै हेलम्बुमा आएर दिन्छु भनेको ५ लाख अहिलेसम्म नपाएकोे स्थानीय शिवराम कुइँकेल बताउँछन् ।  उनी अघिल्लो सरकारले दिने भनेको ५ लाख राजनीतिक कारणले नदिएको आशङ्का व्यक्त गर्छन् । ‘यो दिने भनेको ५ लाख अस्तिनै आइसक्थ्यो सत्ता परिवर्तन भएर हामीलाई मार पर्या’, उनले भने । उनी सरकार र सत्ताले पीडितहरूको घाउमा नुन खुर्सानी लगाएको बताउँछन् । ‘सत्ता र सरकारले हाम्रो घाउमा नुन खुर्सानी दलिरहेको छ । न कुनै सान्त्वना छ, न केही गर्ने सुरसार नै !,अब चुनाव आउन लाग्यो झुटा आश्वासनका घोषणा पत्र बोकेर नेताहरू गाउँ आउँछन् त्यति बेला हेरौला नि कसरी भोट माग्छन्’, उनले भने । 

मेलम्चीमा बाढी आएपछि नेता र मन्त्रीहरू मेलम्ची नगएका भने होइनन् । सरर…हेलिकप्टर चढेर मेलम्चीलाई उठाउँछौ भन्ने मिठा मिठा भाषण छाड्न पनि भ्याए । तर,यतिका महिना बित्दा समेत पीडितका नाममा केही गर्न भने भ्याएनन् । स्थानीय तहका नेतृत्व कमजोर भएर हो या राज्य स्तरबाटै चासो नभएर हो भन्ने कुरा यति बेला स्थानीयहरूमा संशय पैदा भएको छ । हेलम्बु,मेलम्ची वासीको उत्थानका लागि नेतृत्वबाट पहल भएको नेताहरू बताउँछन् । सबै दलका नेताहरूले आ आफ्नो ठाउँबाट कसरत गरिरहेको नेताहरूको दाबी छ । तर,देखिने काम भनेको चनौटेको बेलिबृज बाहेक केही छैन । 

नेताहरूले गर्छौ गर्छौ मात्र भन्नुहुन्छ । गरेको चैँ खासै केही छैन । थोरबहुत त खटिनुभएको छ । तर,यतिले मात्र त हाम्रो लागि केही हुँदैन स्थानीय प्रवीण शर्मा बताउँछन् । उनी स्थानीय तहको चुनाव आउन लागेकोमा खुसी छन् । उनी अब आउने मान्छेले चैँ पीडितका लागि केही गर्छन् कि भन्ने उनको बुझाई छ । ‘अब चुनाव पनि आउन लाग्यो नयाँ मान्छे आउँदा चाही हाम्रो लागि केही गर्छन् कि ! ’,उनले भने । उनी आगामी स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक पार्टीलेहरुले हेलम्बु,मेलम्ची बाढी पीडितहरूको उत्थानका लागि केही राम्रो धारणा बनाइदिएमा पीडितहरूलाई झन् राहत हुने बताउँछन् । ‘चुनावमा चैँ सबै पार्टीले हाम्रो लागि केही धारणा बनाए भने देखि हाम्रो लागि झनै राम्रो हुने थियो’, उनले भने ।  

आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै छ । योसँगै अब पीडितको लागि मेलम्ची नगरपालिकामा दलहरूको साझा एजेन्डा बन्छ कि बन्दैन भन्ने कुरा सर्वत्र चुलिएको छ । पीडितहरूको उत्थानका लागि पीडितहरूलाई पुरानै अवस्थामा फर्काउन दलहरूले साझा एजेन्डा बनाएर जानुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : १६ बजे