पहिरामा सन्तानसँगै गुमेको खुसी अझै फर्किएन

बेनी।  रामसती श्रीपाली उमेरले ४८ वर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवारको आर्थिक अवस्था कमजोर भएपनि सन्तोष नै मानेर खुसीका साथ बसेका थिए । तर परिवारको त्यो खुसी २०७७ साल असार २५ गते रातिको पहिराले खोसिदियो । 

मध्यरातमा भीषण वर्षासँगै आएको पहिराले श्रीपालीको जेठा छोरा र जेठी छोरीसहित परिवारका आठ जनाको मृत्यु भयो । जेठा छोरा मिलन, बुहारी कमलासहित उनीहरुका एक÷एक छोराछोरी सुरज र सुरक्षा पनि पहिरामा गुमे । उता सोही रातिकै पहिरामा परेर मराङको राम्चेमा बस्दै आएकी जेठी छोरी सुपना लामगाडेसहित उनका दुई छोरा आशिष, आयुस र छोरी आयुसाको मृत्यु भयो  । ‘‘के भयो भयो, दुस्मनले जसरी पहिराले मेरो परिवारमा उठिबास लगायो, जेठा छोराको वंश नै सकियो, जेठी छोरी पनि आफ्ना छोराछोरीसहित पहिरामा पुरिइन, यस्तो विपत्तिको चोट अरुलाई नपरोस्’’, उहाँले भन्नुभयो । 

पहिरा गएको रातको त्यो काहालीलाग्दो क्षण सुनाउन खोज्दा रामसतीका आँखा आँशुले भरिएका थिए । मनमा कहिल्यै नमेटिने चोट दिएको त्यो क्षण सुन्नेका लागि कहानी जस्तो लागे पनि उहाँका परिवारका लागि भने वास्तविक घटना हो, भोगाइ हो । त्यो रातको पहिराले मराङको विभिन्न स्थानमा १९ जनाको मृत्यु, दुई बेपत्ता, मालिका गाउँपालिका–१ बिममा आठको मृत्यु एक बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए । पहिराले गाउँ क्षतविक्षत् बनाएको थियो नै, त्यसैमा श्रीपाली परिवारलाई पनि थिलोथिलो बनाएर छाड्यो । 

पहिराले करिब दुई वर्षअघि सन्तानसँगै खोसिएको श्रीपाली परिवारको खुसी त अब फर्किंदैन नै, तर दैनिकीलाई पुरानै लयमा फर्काउन समेत कठिन छ । पहिराले उठिवास लगाएको परिवारलाई सम्हाल्न श्रीपालीलाई मुस्किल परेको छ । आफन्त गुमाएको पीडा त छँदै छ, त्यसैमा पनि परिवार चलाउने आय–आर्जनको आधार नभएकाले यो परिवार आर्थिक सङ्कटको भुमरिमा छ । सन्तान गुमाएको पीडाबाट सम्हालिएर अघि बढ्नुपर्ने अवस्थाको सामाना गरिरहनुभएकी श्रीपालीले पाँच वर्षअघि नै श्रीमान् गुमाइसक्नुभएको थियो । 

सिकर्मीको काम गरेर घरपरिवारको पालनपोषण गदै आउनुभएका घरमुली नरबहादुर  श्रीपाली बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको थियो । ‘‘टाइफाईड भएर बेनी हुँदै मनिपाल पु¥यायौ, रोगले चापेको रहेछ, आइसीयू कक्षमै करिब एक महिना भर्ना गरेर उपचार पनि ग¥यौँ, रु साढे ४ लाखभन्दा बढी सकियो, तर उहाँलाई बचाउन सकिएन’’, रामसतीले भन्नुभयो ।  

ऋण नै खोजेर उपचार गरेपनि घरमुली नरबहादुरको मृत्यु भएपछि जेठा छोरा मिलन कतार गए । विदेशबाट फर्किएपछि फेरि विदेश नै जाने योजनामा थिए उनी । विदेश गएर घरपरिवारको व्यवहार मिलाउने उनको सपना उनीसँगै पहिराले बगायो । रामसतीले अहिले गाउँमा अर्काको घर र सानो बारी किनेर परिवारको बसोबासको प्रबन्ध गर्नुभएको छ । सकारले दिएको राहत रकममा थपथाप पारेर ओत लाग्ने ठाउँ बनाए पनि परिवारको दैनिकीलाई सहज बनाउन नसकिएको उहाँको भनाइ छ । उहाँको परिवारलाई स्थानीय सरकारको समन्वयमा म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना)ले पहिरा पीडितको लागि बनाएको एकीकृत बस्तीमा सानो घर पनि उपलब्ध गराइएको छ ।

जीवनमा विरलै कसैले व्यहोर्ने वियोगको सामना गर्नुभएकी उहाँ अहिले स्कुले  उमेरका ११ वर्षीय कान्छा छोरा सफल र नौ वर्षीया कान्छी छोरी शिखाको पढाइ खर्च जुटाउनसमेत निकै सङ्घर्षको भूमरीमा पर्नुभएको छ । स्थानीय राम्चे आधारभूत विद्यालयमा सफल कक्षा ४ र शिखाले कक्षा ३ मा पढ्छन् । पहिराले उनीहरुको आफन्त खोसेर लग्यो भने उनीहरुमा मनोवैज्ञानिक रुपमा त्रास र भयको छापसमेत छाडेको छ ।

पहिरामै परेर घाइते भएका सफललाई पोखराको मणिपाल अस्पतालमा पु¥याएर उपचार गरी बचाइएको थियो । ‘‘एक्कासि घर बगायो, मैले त आकास नै खसे जस्तो देखेँ, पछि पहिराले बगाएपछि केही थाहा पाइन, हात, कम्मर र टाउकोमा लागेको चोटको उपचारपछि निको भयो, आजभोलि पनि त्यो दिन सम्झँदा डर लाग्छ’’, सफलले पहिरा जाँदाको रातको घटना सुनाउनुभयो । 

माइली छोरीको विवाह भइसकेको छ । साइला छोरा दीपक र माइला खगिनले मजदूरी गरी घरखर्च जुटाउँदै आएको रामसतीले बताउनुभयो । ‘‘स्कुल पढ्ने उमेरका छोराछोरीको पालनपोषण गर्न निकै कठिन भएको छ, अझ माथिल्लो कक्षामा पुगे भने कसरी पढाउने होला, अरु छोराछोरीले आर्थिक अवस्था कमजोर भएर पढ्न पाएनन्, यी दुई छोराछोरीलाई कम्तीमा पढाउन पाए हुन्थ्यो’’, लामो सास फेर्दै उहाँले सुनाउनुभयो । विपद्ले निम्त्याएको वियोग, सङ्कट र समस्याको भूमरीमा हिम्मतका साथ अगाडि बढे पनि रामसतीको परिवारको दैनिकी लयमा फर्किनसकेको छैन् । रामसती आफै पनि स्वस्थ हुनुहुन्न । 

पटक–पटक बिरामी भइरहने भएकाले मजदुरी गर्न नसक्दा साहिलो र माहिलो छोराको भरथेकमा परिवारको खर्च जोहो गर्नुपर्ने बाध्यता छ । ‘‘छोराछोरी साना छन, मेरो स्वास्थ्य बिग्रिएको कुरा सुनाउन पनि त सक्दिन, अखिर के रहेछ र जिन्दगी ? मान्छे भएर जन्मेपछि दिन घचट्ने, काल पर्खिनु त रहेछ नी ?’’, उहाँले मनभित्रका पीडा सुनाउनुभयो । यता घरमा यस्तो विपत्ति आइपर्दा रामसतीका जेठी छोरीका श्रीमान् ओमप्रसाद लामगाडे वैदेशिक रोजगारको क्रममा साउदीमा हुनुहुन्थ्यो । घरमा श्रीमतीसहित छोराछोरी र ससुरालीमा समेत जेठा दाइको परिवार नै पहिराले पुरिएको खवर सुनेपछि विछिप्त हुनुभएका ओमप्रसाद गाउँ फर्किएर विगतको अकल्पनीय पीडा भुल्न खोजेपनि परिस्थिति सजिलो बनिदिएको छैन् । 

बाढीपहिरा पीडितका लागि बनाइएको एकीकृत बस्तीमा दुई कोठा भएको साघुँरो घरमा परिवारका आठ जनाको बसोबास सहज नभएको उहाँको भनाइ छ । ‘‘बस्ने घर र कमाएर खाने बारी पनि बाँकी राखेन, यहाँ साँघुरो घरमा सधैँभरी यसरी नै बसेर जीविका चलाउने अवस्था पक्कै सम्भव छैन, यहाँ आय–आर्जनका लागि रोजगार पनि छैन, केही समयपछि फेरि विदेशतिर नै जाने होला’’, उहाँले भन्नुभयो । 

मराङमा पहिराले पूर्ण रुपमा क्षति भएका १० परिवारलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र १० घर सरकारी तवरबाट एकीकृत बस्तीको रुपमा निर्माण गरी पीडितलाई उपलब्ध गराइएको धवलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन घरले आफै घर पुनःनिर्माण गरी बस्नुभएको छ ।

पहिरापछि लामो समय त पालमुनी नै बसेका पीडित घर बनेर सुरक्षित आवासमा बस्न थालेपछि खुसी भएका छन् । सरकार र मोनाको पहलमा घर बनेपछि तत्कालको लागि पीडितलाई राहतको महसुस भएको राम्चे आधारभूत विद्यालयकी शिक्षकसमेत रहनुभएकी सविना विकले बताउनुभयो । रासस

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ३५ बजे