काठमाडौँ । मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले नेपालगञ्ज शाखा विस्तार गरेर सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवहरूको उद्धार सुरु गरेको छ ।
मानव सेवा आश्रमको १९औँ जिल्ला शाखाको रूपमा बाँके जिल्लाको नेपालगञ्जमा शाखा विस्तार गरिएको केन्द्रीय सदस्य सृजना ओलीले बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा शाखा विस्तार गरिरहेको भए पनि यी तिनै प्रदेशका शाखासँग समन्वय गर्ने र नेपालगञ्ज आफैमा ठुलो सहर भएकोले यहाँका सडक मानवको व्यवस्थापनका लागि नेपालगञ्जमा शाखाको महसुस भएपछि नयाँ वर्षको अवसर पारेर शाखा विस्तार गरिएको बताउनुभयो ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको सडकमा बेवारिसे जीवनयापन गरिरहनुभएको एक ६९ वर्षीय महिलाको उद्धार गरी शाखाको सुरुवात गरिएको थियो ।
संस्थाले हेटौँडा उपमहानगरपालिकाबाट सुरुवात भएको संस्थाको हाल १८ जिल्ला शाखा सञ्चालनमा छन् जसमा करिब १ हजार५ सय जना विभिन्न उमेर समूहका सडक पेटी एवं सार्वजनिक स्थलहरूमा रहन बाध्य भएका व्यक्तिहरूको उद्धार गरेर संरक्षण गरेको छ ।
संस्थाले वि.स. २०८२ सालसम्म देशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार ९ : ०८ बजे
प्रतिक्रिया