‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्शनमुनि रूख नभएको स्थानमा सामूहिकरूपमा गरिएको जडीबुटी र घाँस खेतीलाई आयआर्जनको स्रोत बनाएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरुले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन् ।

समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरूपमा निकै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो ठाउँमा यसरी हामी बहिनी मिलेर आम्दानी गर्छम जस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ ।” 

हाइटेन्शनमुनिका रूख काटिएपछि खाली बनेको स्थानबाट उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियारले बताउनुभयो । जडीबुटी गोडमेल गर्ने र घर फर्कंदा घाँस लिएर जानु आफूहरुको दैनिकी बनेको उल्लेख गर्दै परियारले समूहले यस वर्ष अदुवा पनि खेती गरेको बताउनुभयो । 

अदुवा खेती सप्रिएको बताउँदै बजार व्यवस्थापनको पाटोमा भने सहयोग चाहिएको उपसमूहकी कोषाध्यक्ष सानुमाया मोक्तानले जनाउनुभयो । तीन वर्षअगाडि जडीबुटी खेती सुरु गर्दा आम्दानीको सपना देखे पनि दुःख गर्दा र घरमा भएका वस्तुसहितको हेरचाहमा भ्याइनभ्याई भएको अवस्थामा थोरै निराश भएको स्मरण गर्दै कोषाध्यक्ष मोक्तानले जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फत नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी भएको बताउनुभयो । 

हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रापालन पनि गर्दै आएको उहाँको भनाइ छ । मोक्तान भन्नुहुन्छ, “नभएको लगानी हालेर बाख्रा पाल्ने अनि त्यसलाई घाँस खोज्न कहाँ जाने जस्तो लाग्थ्यो तर अहिले यहाँको घाँसले बाख्रा र गाई पाल्न थालेको छु ।” जग्गा जमीन थोरै, पढाइ नभएका कारण उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाले रोजगारीको स्रोत खोज्दा वन समूहले यस्तो उपयुक्त योजना ल्याएर जीवन परिवर्तनमा सघाउ गरेको मोक्तानको भनाइ छ । 

हाल उक्त उपसमूहका महिलाहरुले सर्पगन्धाको बीउसमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको वस्तिमाया मोक्तान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले त जग्गा जमीन पनि छैन, पढेको पनि छैन कमाउन सक्छ जस्तो मानेको थिएन पो ।” तर उक्त सामूहिक जडीबुटी खेतीले अब भने जीवन परिवर्तन हुनसक्ने आशा पलाएको मोक्तानको भनाइ छ । 

बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिलाहरु अहिले सक्षम र व्यस्त हुन थालेको उपसमूहकी सदस्य देवकी बिष्टको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भन्नुहुन्छ, “खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थामा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमले साँच्ची भन्नुपर्दा हामीलाई परिवर्तन नै गरिदिएको छ ।” सानो लगानीबाट बाख्रापालन सुरु गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ । 

उक्त स्थानमा रहेको दुई हेक्टर जमीनमा हाल सामूहिकरूपमा खेती गरिँदै आएको बिष्टले जानकारी दिनुभयो । हाल सर्पगन्धा, अम्रिसो र अदुवाका साथमा घाँस खेती भइरहेको उहाँको भनाइ छ । यसपटक अदुवा सप्रेको र अब बजारीकरणको तयारीमा रहेको बिष्टले जानकारी दिनुभयो । 

सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न भेला छलफलमा सम्भावित योजनाहरुको विषयमा जानकारी दिँदा पनि महिलाहरुको जीवन परिवर्तनमा सहयोग पुग्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताउनुभयो । वनबाट समृद्धि र समृद्धिका लागि उद्यमशीलतामा जोड दिने नीति सामुदायिक वन उपभोक्ता महासङ्घको रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : १७ बजे