थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमालेबाट क्व्होलासोथर गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा गुरुङ सर्वसम्मत

लमजुङ – लमजुङको क्व्होलासोथर गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेकपा एमालेको गाउँ कमिटीले सूर्यप्रसाद गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ ।

क्व्होलासोथर गाउँपालिका–५, पसगाउँ घर भएका उहाँलाई वैशाख ३० गतेको निर्वाचनमा गाउँ कमिटीले अध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य गुरुङ यसअघि एमाले क्व्होलासोथर गाउँ कमिटी सविच र त्यसपछि उपाध्यक्ष हुनुहुन्थ्यो ।

वडा ६ र ७ को इन्चार्जसमेत रहनुभएका उहाँले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिवको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका गुरुङले वान इयर बिएड समेत गर्नुभएको छ । बैंकिङ करियरमा अनुभव बटुलेका उहाँ सामाजिक क्षेत्र हुँदै राजनीतिक क्षेत्रमा होमिनुभएको हो । शुक्रबार आयोजित बैठकले उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सुचना गुरुङ र गोविन्दकुमारी गुरुङ गरी ४ जनालाई सिफारिस गरेको गाउँ कमिटी सचिव आसबीर गुरुङले बताउनुभयो ।

गाउँ कमिटीले वडा कमिटीबाट सिफारिस भएका सवैलाई जिल्ला कमिटीमा सिफारिस गरेको छ । वडा १ को अध्यक्षका लागि वर्तमान अध्यक्ष पेमा गुरुङ, सोमबहादुर गुरुङ, सोमबहादुर विक, टसबहादुर गुरुङ र अमन गुरुङ गरी ५ जनालाई सिफारिस गरिएको छ । वडा नं। ९ मा वर्तमान अध्यक्ष नन्दजंग गुरुङ र आसमान गुरुङलाई सिफारिस गरिएको छ ।

पार्टीले वडा २ बाट खुसीमान गुरुङ, वडा ३ बाट आसबीर गुरुङ, वडा ४ बाट नारायणबहादुर गुरुङ, वडा ५ बाट गीतबहादुर गुरुङ, वडा नं। ६ बाट मनलाल गुरुङ, वडा नं। ७ बाट लक्ष्मण गुरुङ र वडा नं। ८ बाट सन्तोष घलेलाई वडाअध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ३४ बजे