‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गठबन्धनमा तालमेल मोडालिटी : देउवा डालो, प्रचण्ड-माधव मानो !

देश अहिले स्थानीय तहको निर्वाचनको रन्कोमा छ । नेकपा(एमाले) र सत्ता गठबन्धन दुई कित्तामा ध्रुवीकृत वर्तमान राजनीतिक ब्याटलमा एमालेको विजय हुने निकै भरपर्दा सङ्‌केत देखा परेका छन् ।

लामो समय गुटबन्दीको सिकार रहँदै आएको एमालेमा माधव नेपालको सानो समूह चोइटिएर बाहिरिएपछि अद्वितीय रूपमा एकताबद्ध भएको छ । माओवादीको ठुलो समूह, देशभरका सच्चा लोकतन्त्रवादी, प्रगतिशील अन्य शक्ति र व्यक्तिको निरन्तर एमालेमा समाहित हुने प्रक्रियाले तीव्रता पाउँदा एमाले इतिहासकै शक्तिशाली भएको छ ।

पार्टी अध्यक्ष के पी शर्मा ओलीको प्रतिस्पर्धाविहीन क्रेज, पार्टीको राष्ट्र निर्माणको भिजन र मुद्दा, जनताको बहुदलीय जनवादको वैचारिक शक्ति र भरपर्दो साङ्गठनिक आधारले एमाले साँच्चिकै अजेय शक्तिको रूपमा उदाएको छ । देशी विदेशी प्रतिक्रियावादी शक्तिको चौतर्फी घेराबन्दीलाई तोड्दै एमाले लIoभेदनतर्फ अगाडि बढेको छ ।

पटक-पटक गम्भीर स्वास्थ्य समस्या झेल्दै आएका, मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गराएका सत्तरी वर्षीय ओलीको पच्चीस वर्षे युवाको जस्तै सक्रियताले एमालेलाई एक अब्बल क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गरेको छ । पार्टीले जनताको अपार समर्थन प्राप्त गरेको छ । विगतको स्थानीय निर्वाचन अघि एमालेविरुद्ध ब्यारिकेट खडा गरिएको मधेस प्रदेशमा आज जताततै ओलीलाई रातो कार्पेट बिछ्याइएको छ ।

पर्सा, सप्तरी, रौतहट, सर्लाही, धनुषा,महोत्तरी लगायतका जिल्लाका अधिकांश गैर एमाले जनप्रतिनिधिहरू एमालेमा सगौरव समाहित भएका छन् । हिजो एमाले कमजोर रहेका मधेसका थुप्रै पालिकाहरू आज धमाधम एमालेका गढमा परिणत हुँदै छन् । जनसङ्‌ख्या र मतदाता अत्यधिक रहेको मधेस प्रदेशमा एमालेको पक्षमा  लहर न भुत्तो न भविष्यति भनेझैँ आएको छ ।

अर्कातिर दिन प्रतिदिन जनतामा अलोकप्रिय बन्दै गएको सत्ता गठबन्धन तालमेलको झमेलामा नराम्ररी जकडिएको छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काङ्‌ग्रेसको अनिच्छाका बाबजुद राष्ट्रव्यापी तालमेलको लागि कस्सिएका प्रचण्ड र माधवलाई काङ्‌ग्रेसले बिरालोले मुसो खेलाएझैँ खेलाइरहेको छ । कार्यकर्ता तहमा एमालेको छातामुनि धमाधम बाम ध्रुवीकरण भइरहेको नियालेको नेपाली काङ्‌ग्रेसले पछिल्ला दिनमा प्रचण्ड र माधव समूहलाई त्यति भाउ नदिएको प्रष्ट देख्न सकिन्छ ।

नेपाली काङ्‌ग्रेसका विभिन्न नेताले उनीहरूले आफ्नो औकातभन्दा बढी सिट मागेको बताइरहेका छन् । विगतमा ओलीविरुद्ध एउटै जुवामा नारिएर देउवाको क्याम्पमा गएका प्रचण्ड र माधवमा पनि कसको औकात कति भन्नेमा लफडा सुरु भएको छ । आरोप प्रत्यारोप सुरु भएको छ । हिजो एमालेमा आफ्नो अपमा..न भयो भनेर अकारण एमालेबाट भागेका माधव नेपाल आज गठबन्धन दलले पनि आफ्नो अपमान गरेको बताउन थालेका छन् । विगतमा माधव नेपालले छरेको भ्रमबाट मुक्त भएर देशभरका माधव समूहका नेता-कार्यकर्ता धमाधम आफ्नो गौरवशाली घर एमालेमै फर्किरहेको देखेर उनी दिन प्रतिदिन विक्षिप्त बन्दै गएका छन् एकातिर भने अर्कोतिर देउवा र प्रचण्डले भने जति स्थानीय तहका सिट दिन अस्वीकार गरेबाट उनको हुर्मत हुँदै गएको छ ।

प्रचण्ड उर्फ रेणुका बालाई आफ्नो छोरीलाई भरतपुर महानगरपालिकाको मेयर पद पुनः प्राप्ति नै 'कमिलालाई मुतको पहिरो ' भएको छ । उनलाई पनि नेपाली काङ्‌ग्रेसले अन्त्यमा थाङ्नामै सुताउने हो । छलाङ मार्न सिपालु प्रचण्डलाई एमालेतिर छलाङ मार्न नदिने नेपाली काङ्ग्रेसको एक मात्र ध्याउन्न छ । ओली र एमालेको हाउगुजी देखाएर प्रचण्ड र माधवलाई अन्तिमसम्म अलमल्याउनुमा नै आफ्नो सफलता देखेको छ काङ्ग्रेसले ।

प्रचण्ड र माधवलाई देउवाले जे दिनु थियो दिइसके । अब केही दिँदैनन् । तालमेलको अधिकार पाएका नेपाली काङ्‌ग्रेसका स्थानीय समितिले बिस्तारै बिस्तारै आफ्नो थैली कस्तै ल्याएको देखिन्छ । यस सन्दर्भमा कास्की काङ्‌ग्रेसको तर्क बढो घतलाग्दो छ । ऊ भन्छ-'डालोमा भएको मत मानोमा हाल्दा पोखिन्छ, मानोको मत डालोमा हाल्दा परिणाम आउँछ ।' अर्थात् नेपाली काङ्ग्रेस डालो हो, प्रचण्ड र माधव समूह मानो हुन् ! मानोले खुरुखुरु डालोमा खन्याउने हो, डालोबाट मानोमा खन्याइन्न ! देख्नुभयो त सत्ता गठबन्धनको तालमेलको मोडालिटी ?

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ५५ बजे