थप ५७ वटा हिमाल आरोहणका लागि खुला

ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

सर्लाही – आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ  । 

शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष  ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिनुभएको छ ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गर्नुभयो ।

२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गर्नुभयो । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उहाँले दाबी गर्नुभयो ।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताउनुभयो । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताउनुभयो  ।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उहाँले बताउनुभयो । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उहाँको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने समेत उहाँले बताउनुभयो ।

उहाँले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गर्नुभयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाउनुभयो । 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०२ बजे