ललितपुरको प्युटार जङ्गलमा भिषण आगलागी

ललितपुर । दक्षिण ललितपुरको प्युटार जङ्गलमा भीषण आगलागी भएको छ । 

आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवलदार  वेदनाथका अनुसार बिहीबार माझ खण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाउँका दर्जनौँ घरहरू जोखिममा परेका छन् । 

शुक्रवारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । 

प्रहरी सहायक हवलदार वेदनाथका अनुसार निरन्तर ढुङ्गाहरू झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उहाँले भन्नुभयो, “रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्योलमा छौँ ।”  निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उहाँले बताउनुभयो । 

आगो फैलँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम बहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन । 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ३५ बजे