सुर्खेत । आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा एक्ला एक्लै लड्ने भएका छन् ।
चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेकाले गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने भएका हुन ।
नेपाली काँग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासीन दलहरू गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठुलो भाग खोजेपछि सहमति नभएको बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्रले) ठुलो भाग खोजेपछि सहमति नभएको काँग्रेसको आरोप छ ।
डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी, उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो नेकपा एमालेले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।केही समयअघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्षसहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको सङ्ख्या बढेको थियो ।
काँग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजवादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको सभापति शाहीले बताउनुभयो । नेपाली काँग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको काँग्रेसको भनाइ छ ।
आफूहरूले एक्ला एक्लै लड्ने सहमति गरेर प्रदेशमा पत्र पठाएको सभापति शाहीले जानकारी दिनुभयो ।
नेकपा समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली काँग्रेसले ठूलीभेरीमा प्रमुख दिनुपर्ने र अन्य स्थानीय तहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाँट हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताउनुभयो।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज रामलाल विकले जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओवादी केन्द्रलाई दिने र जहाँ एमाले कमजोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको जानकारी दिनुभयो ।
उहाँले सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अवस्था आएको बताउनुभयो । तर यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेदवारमा समेत फेरबदल गर्ने सङ्केत देखिएको छ ।
प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ८ : ३३ बजे
प्रतिक्रिया