‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले मोडालिटीको तालमेल र गठबन्धनको कोकोहोलो

कति आरिस, कति डाहा र ईर्ष्या हो ? आफूहरूले दूधले पखालिएका, अरूचाहिँ फोहोरमा लतपतिएका ? आफूहरूसँग जोसुकै, जस्तोसुकै मिलोस्, जसरी र जेसुकै सर्तमा मिलोस्, ऊ हरेक हिसाबले स्वच्छ र शुद्ध हुने अनि नेकपा (एमाले) सँग मिलेपछि सबै अस्वस्थ र अशुद्ध ?! मिल्न कति उचित, कति अनुचित आफ्नो ठाउँमा होला, तर नेपालको राजनीतिमा कोसँग, को मिलेको छैन र ? पुराना कुरा गर्ने हो भने राजा र काँग्रेस घाँटी जोडिएका शक्ति हुन् । राजाको कदमको समर्थन गरेका केशरजङ्ग रायमाझीलाई नेपाल कम्युनिष्ट पार्टीले गद्दार भनेर निकालिदिएको हो । पछि, राजावादी दलहरूसँग सहकार्य गरेको पनि हो । समय, परिस्थिति र मुद्दा हेरेर सही र गलत छुट्याउने हो । 

दीर्घकालीन सशस्त्र जनयुद्धको माध्यमबाट जनवाद ल्याउन नरसंहार गर्दै हिँडेका माओवादी कमाण्डर पुष्पकमल दाहालको टाउकाको मोल तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग गठ जोड गरेर पुष्पकमल दाहालले शेरबहादुर देउवालाई अहिले पनि प्रधानमन्त्री बनाएको कसैबाट लुकेको छैन । अहिले पार्टी नेतृत्वमाथि अनेकौँ लाञ्छना लगाएर उच्छिट्टिएर शेरबहादुरजीको पुच्छर समाउन पुगेका माधव नेपालले आफू नेतृत्वको सरकारमा इटाभट्टामा जिउँदा जनता जलाउने मोहम्मद अफताब आलमलाई मन्त्री बनाएर सहकार्य गरेकै हो । 

नेपाली राजनीतिमा यस्ता विकृत तथ्यहरू अरू पनि छन् । माओवादी केन्द्रका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल अहिले पनि जुनसुकै भाषणमा गिरिजा बाबुको गुणगानको महामन्त्र जप्न छोड्नुहुन्न र नेपाली काँग्रेससँगको गठबन्धनको गाँठो फुस्कन नदिन दिनरात प्रयासरत रहेको पनि कहीँ कसैबाट लेकेको छैन । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले राजनीतिलाई दाउपेच भन्नुभएको छ । राजनीतिमा दाउपेच हुन्छ । तर, हरेक विषयलाई दाउपेच बनाउन हुन्छ कि हुँदैन भन्ने विषय प्रमुख हो । आफू वा आफ्नो दलले जित्ने र अरूलाई हराउने दाउपेच र समाजमा वितण्डा र विद्वेष फैलिने वा फैलाउने दाउपेच गर्नु राम्रो हुँदैन । हार र जित कसैको होला, तर समाजले हार्नुहुँदैन, देशले हार्नुहुँदैन ।  

सबै नेपाली जनतालाई थाहा छ, डा. सिके राउतहरू विगतमा नेपाल राष्ट्रलाई नै विखण्डन गरी छुट्टै राष्ट्र बनाउने गतिविधिमा हुनुहुन्थ्यो । वहाँहरू यसका लागि सङ्गठित र सशस्त्र हुनुहुन्थ्यो । छुट्टै राष्ट्र बन्थ्यो, बन्दैन थियो, त्यो बेग्लै कुरा हो । तर, त्यस गतिविधिले तराई असुरक्षित र अशान्त थियो । दिनानुदिन सामाजिक सद्भाव खलबलिइरहेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले वहाँहरूसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको हो । त्यति बेला पनि केही मानिसहरू ‘केपी ओली विखण्डनकारीसँग झुके’ भनेर कोकोहोलो मच्याइरहेका देखिन्थे । 

केही समयपछि पुष्पकमल दाहालको सत्ता सुख सहितको शान्ति मार्गमा आगमनबाट असन्तुष्ट भई नेकपा माओवादी केन्द्रबाट अलग भई सशस्त्र विद्रोहलाई निरन्तरता दिइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहसँग केपी ओली नेतृत्वकै सरकारले वार्ता गरी शान्तिपूर्ण मूलधारमा ल्याउने काम गरेको थियो । त्यति बेला पनि केही मानिसहरूले कसैका विरुद्धको षड्यन्त्र देखे, कसैले ‘सरकारले नियन्त्रण गर्नुपर्ने शक्तिसँग वार्ता गरेर विद्रोहीहरूको मनोबल बढायो’ भनेर अखबार बाजी गरे, माइक बाजी गरे । तर, त्यो समूह अहिले शान्तिपूर्ण राजनीतिमा रहेको छ । यति मात्र होइन, त्यसदेखि यता हालसम्म नेपालमा कुनै सशस्त्र द्वन्द्वरत राजनीतिक दल वा समूह रहेको छैन ।  समाज, देश र दुनियाँका लागि हित हुने विषयमा पनि दाउपेच गर्नु सर्वथा गलत हो । 

अहिले पनि केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकारलाई परमादेशबाट विस्थापित गरी पाँच थरी दृष्टिकोण र विचार भएका दल र झुण्डहरूको गठबन्धन बनेको, रहेको र त्यसैले सत्ता सञ्चालन (सञ्चालन के भन्नु सत्ता सुख भोगिरहेको) गरिरहेको छ । त्यसभित्र आफूलाई सङ्घीयताका माइबाप ठान्नेहरू छन्, सङ्घीयता मान्दै नमान्ने समूह छ । टाउकाको मोल तोकिने र तोक्ने त्यहीँ छन् । क्रान्ति, लोकतन्त्र, समाजवाद र सङ्घीयताका सम्बन्धमा कहीँ, कतै, कुनै दृष्टिकोण, विचार र सिद्धान्तको साइनो नभएको देखिनेहरू निहित स्वार्थका लागि गठ जोडमा छन्, गाँठो फुस्किने डरले त्राहिमाम् छन् । 

तर, केपी ओली अध्यक्ष रहनुभएको नेकपा (एमाले)सँग एमालेकै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्न आउने शक्तिहरूसँगको तालमेलका विषयमा निरर्थक र कुतर्कका प्रतिक्रिया उरालिइरहेको देखिन्छ । आफूसँग हुँदा सबै सही र अरूसँग हुँदा सबै गलत भन्ने हो भने त्यस्ता कुतर्कका पछि लाग्नुको कुनै अर्थ छैन; नत्र विगतमा माधव नेपाल र परिवार दलका नेताको सम्बन्ध जगजाहेर छैन र ? राप्रपा नेपालका अध्यक्षसँग नेकपा एमालेको सिद्धान्त विचार नमिल्ने विषय छ, तर कमल थापाले सार्वजनिक रूपमा नै राजा बोकेर गल्ती गरेको विषयमा बुझ पचाउन मिल्छ र ? के वहाँहरूलाई राजतन्त्रकै पछि लागिरहने उपदेश दिन र त्यसमा सहयोग पुर्‍याउनु आवश्यक र उचित हुन्छ र ? एमालेसँग विगतमा पनि स्वतन्त्र समूहसँग आफ्नै चुनाव चिन्ह दिएर प्रतिस्पर्धा गराएको उदाहरण छ । त्यसैले चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने, सहयोग लिने र दिने विषय अखबार बाजी, माइक बाजी र भाषण बाजीको विषय होइन । सके एमालेको ‘मोडालिटी’ अपनाए हुन्छ । पाँच मुखे गठबन्धन र एमाले मोडालिटीबीच तात्त्विक भिन्नता रहेको स्पष्ट देखिन्छ । कसैलै मच्चाएको कोकोहोलोबाट कोही पनि भ्रममा पर्न आवश्यक छैन । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : २१ बजे