अध्यक्ष ओली आज नुवाकोट आउनुहुँदै

नुवाकोट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नुवाकोट आउँदै हुनुहुन्छ ।

एमालेका तर्फबाट आयोजना गरिएको बृहत चुनावीसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न ओली हेलिकोप्टरबाट आज नुवाकोटको विदुर आउन लागेका हुन् ।

आज १ बजे विदुर नगरपालिकाको वडा नम्बर ४ को हावाघर भन्ने स्थानमा आयोजित सभामा ओलीले सम्बोधन गर्ने र सोही कार्यक्रममा एमाले प्रवेश गराउने कार्यक्रम तय भएको एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस नुवाकोटका प्रभावशाली केही नेताहरू एक हजार भन्दा बढी कार्यकर्तासहित एमाले प्रवेश गर्दैछन् भने माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू पनि एमालेमा प्रवेश गर्दैछन् । एमाले नुवाकोटले पार्टी प्रवेश गर्नेहरूको नाम भने खुलाएको छैन । नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिसमा परेका केही समेत एमाले प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।

डा बाबुराम भट्टरार्इसँगै जसपमा पुगेका केही नेताहरू समेत एमाले प्रवेशको तयारीमा रहेका छन् । उनीहरू सबैलाई नेकपा एमालेका अध्यक्ष ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

एमालेले भने जिल्लाको १२ वटै पालिकाबाट मोटरसाइकल र्‍यालीसहित कार्यकर्ता जम्मा गर्ने भएको छ । पाँच हजार भन्दा बढी मोटरसाइकलको र्याली नै हुने एमाले विदुर नगर कमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रमको तयारीमा जुटेका एमाले बागमती प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठले कार्यक्रममा कम्तिमा ५० हजार जना उतार्ने प्रयास हुने बताउनुभयो । उहाँले १० हजार भन्दा बढी त विदुर नगरपालिकाकै पार्टी कार्यकर्ता र शुभेच्छुकले सहभागिता जनाउने बताउनुभयो ।

श्रेष्ठका अनुसार यो राजनीतिक पार्टीहरूले नुवाकोटमा गरेको मध्येको अहिलेसम्मकै सबैभन्दा ठूलो सभा हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : १४ बजे