घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै, एमाले अध्यक्ष ओलीले उद्‌घाटन गर्नुहुने

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्ट भिलेज घले गाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । 

पर्यटकीय गाउँबाट सुरु भएको घले गाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । 

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज घले गाउँलाई सुखी गाउँ घोषणा गर्नुहुने कार्यक्रम तय भएको घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो ।

स्मार्ट भिलेज घले गाउँका घर एकैनासले रातो रङ्गको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका अध्यक्ष घलेले बताउनुभयो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घले गाउँ दुई पटक दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ । 

२०५६ सालदेखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । २०५७ देखि १२ घरबाट घलेगाँउमा होमस्टे सञ्चालन गरिएको थियो । घले गाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घले गाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

२०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घले गाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घले गाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घले गाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ०६ बजे