राष्ट्रपति भवनमा घटस्थापना

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदै छ । 

बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौँ पटक जिब्रो छेडाउने हुनुभएको छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत नखाने गरिन्छ । 

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेड्ने व्यक्तिको जिब्रो छेडिदिन्छन् । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।

यसैगरी भक्तपुरको मध्यपुर थिमिको बिस्का जात्राको छैटौँ दिन आज नै मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइँदै छ । ३२ वटा खटसहितको सिन्दूर जात्रा मनाइने भए पनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

देवता खटमा राखी धिमे बाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगर परिक्रमा  गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दूर ९अबिर० दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धि गणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोल टोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : १६ बजे