मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

सिराहा । सिराहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ ।

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन आइतबार  ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । 

यो पर्वमा श्रेष्ठ जनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ । ‘सतुवाइन’ मा जौ र चनाको सातु तथा सर्बत खाने र खुवाउने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठ जनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी,  चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी(कढी) पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् ।

दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

जुडशितलका अवसरमा घर मुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : २२ बजे