गठबन्धन निर्माण नहुँदै भत्किन सुरु

काठमाडौ – स्थानीय चुनावको गठबन्धन ठाउँ ठाउँमा निर्माण नहुँदै भत्किन थालेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा पश्चिम तराई नेपालगञ्ज उपमहानगर र मध्यतराईको कलैया उपमहानगरमा सत्तारुढ गठबन्धनका एउटा एउटा पार्टीलाई बाहिर राखेर नयाँ गठबन्धनको अभ्यास सुरु गरिएको छ ।

नेपालगञ्जमा जनता समाजवादी पार्टीले मेयर पदमा दाबी गरेकोमा त्यहाँ काँग्रेसले दाबी नछोडेपछि जसपाले गठबन्धन नमान्ने भन्दै बाहिरिएको छ । नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्वारी घोषणा गरेको छ । जसपा नेता इस्तिहाक राइनका अनुसार काँग्रेस नेतृत्वको जोरजबरजस्तीका अगाडी आफुहरु नझुक्ने बताउनुभएको छ । ‘बाँकेमा हामी काँग्रेस नेतृत्वको गठबन्धनमा बस्दैनौ’ रायनले भन्नुभयो ‘बिचार मिल्ने समुहसँग छलफल गरेर गठबन्धन गर्छौं ।’

यता बाराको स्थिती पनि उस्तै छ । कलैया उपमहानगरमा काँग्रेसले दाबी नछोडेपछि सत्ता गठबन्धनका काँग्रेस इतर दलहरु एकजुट भएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर काँग्रेसको हैकम नमान्ने बताएका छन् । जनता समाजवादी,माओवादी र नेकपा (एस)ले काँग्रेसका विरुद्ध अलग्गै उम्मेद्वार दिने तयारी गरेका छन् । त्यती मात्र होइन बाराको जितपुर सिमरा नगरपालिकामा पनि काँग्रेसले एक्लै चुनाव लड्ने अडान लिएपछि अन्य दलले काँग्रेसकै विरुद्ध गठबन्धन गर्न सुरु गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : ०७ बजे